मुगु दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या चार पुग्यो

हिमाल प्रेस ३० कार्तिक २०८३ १९:०९ | Monday, November 16, 2026
मुगु दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या चार पुग्यो मुगुको छायानाथ रारा नगरपालिका–७, टोप्लामा दुर्घटनामा परी घाइते भएकालाई नेपाली सेनाको हेलिकप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लगिँदै। तस्बिर : रासस

मुगु- रारामा भएको जिप दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएकी ललितपुर महानगरपालिका-१५ मा बस्ने ५४ वर्षीया अञ्जु थापाको सोमबार काठमाडौँस्थित बीएन्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा अञ्जुको मृत्यु भएसँगै मृतकको सङ्ख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए। दुर्घटनामा घाइते भएका जिप चालक ललितपुर-१५ का ५८ वर्षीय कञ्चन थापासहित अञ्जुलाई थप उपचारका लागि सोमबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत हुँदै काठमाडौँको बीएन्डबी अस्पतालमा पुर्‍याइएको थियो।

घाइते कञ्चनको भने सोही अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक थपलियाले जानकारी दिए। उनका अनुसार घटनास्थलमै मृत्यु भएका तीनजना काठमाडौँ कलंकी बस्ने ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश पिडारी र ५० वर्षीय पूर्णकुमार थापाको शवलाई मुगुबाट सेनाको हेलिकप्टरबाट सुर्खेत पुर्‍याई सुर्खेतबाट शववाहन गाडीमार्फत काठमाडाैँ लगिएको छ।

काठमाडौँबाट रारा तालतर्फ आउँदै गरेको बागमती प्रदेशको बा१७च १८६४ नम्बरको हाइलक्स गाडी आइतबार बेलुका मुगुको छायानाथ रारा नगरपालिका-७ टोप्लास्थित रारा जाने सडकको जिमाकाँरा भिरबाट ६०० मिटर तल खसेर दुर्घटना भएको थियो। रासस

प्रकाशित: ३० कार्तिक २०८३ १९:०९ | Monday, November 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast