नइ एकेडेमी अस्ट्रेलियाले १४ जनालाई दियो ‘नइ उत्कृष्ट पुरस्कार’

हिमाल प्रेस ३० कार्तिक २०८३ १९:०० | Monday, November 16, 2026
नइ एकेडेमी अस्ट्रेलियाले १४ जनालाई दियो ‘नइ उत्कृष्ट पुरस्कार’

काठमाडौँ- नइ एकेडेमी अस्ट्रेलियाले सन् २०२६ का लागि विभिन्न १४ विधामा ‘नइ उत्कृष्ट पुरस्कार’ समर्पण गरेको छ।

नइ एकेडेमी अस्ट्रेलियाले नेपाली समुदायको पहिचान, सांस्कृतिक सम्पदा र सामाजिक विकासमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई सन् २०२२ देखि पुरस्कार प्रदान गर्दै आएको छ।

अस्ट्रेलियामा नेपाली समुदायको उत्थान, नेपाली भाषा, कला तथा संस्कृतिको संरक्षण र सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई ‘नइ पुरस्कार’बाट सम्मान गरिएको नई एकेडेमीले जनाएको छ।

पुरस्कारअन्तर्गत बहुसांस्कृतिक नेतृत्व तथा सामुदायिक विकास विधामा डा.कृष्ण हमाल सम्मानित भएका छन्। मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथाम सचेतना विधामा भरत नेपाललाई पुरस्कृत गरिएको छ।

नेपाली तथा अस्ट्रेलियियन समुदायको विकासमा उल्लेखनीय योगदान पुर्‍याएबापत सञ्जीवकुमार शर्मालाई ‘नइ उत्कृष्ट पुरस्कार’ समर्पण गरिएको छ।

नेपाली साहित्यमा उत्कृष्ट लेखनका लागि प्रकाश पन्थीलाई ‘नइ पारिजात पुरस्कार’ प्रदान गरिएको छ।

सञ्चार तथा मिडियामार्फत सामुदायिक सम्बन्ध सुदृढ बनाउन योगदान पुर्‍याएको भन्दै डा.भरत पौडेललाई सम्मान गरिएको छ।

मानवसेवा अस्ट्रेलियालाई उल्लेखनीय योगदान पुर्‍याएबापत एक हजार डलर राशिको ‘नइ मानवसेवा पुरस्कार’ समर्पण गरिएको छ।

अस्ट्रेलिया इन्कर्पोरेटेड र पत्रकारिता तथा सांस्कृतिक सम्पदा संरक्षणमा योगदानका लागि आचार्य राजन शर्मालाई नइ पुरस्कार प्रदान गरिएको छ।

संस्थागततर्फ नेपाली एसोसिएसन अफ वेस्टर्न अस्ट्रेलिया इन्क उत्कृष्ट सामुदायिक संस्थाका रूपमा सम्मानित भएको छ। पश्चिमी अस्ट्रेलियामा नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा नेपाली समुदायको सशक्तीकरणमा संस्थाले पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो।

बहुभाषिक पत्रकारिता तथा सांस्कृतिक सम्पदा संरक्षण विधामा डा.राजु मानन्धर, सामुदायिक सेवा तथा विकास विधामा प्रकाश पौडेल र महिला सशक्तीकरण तथा नेतृत्व विधामा उषाकिरण बरिया पोखरेल पुरस्कृत भएका छन्।

संगीततर्फ नेपाली सांगीतिक सम्पदाको प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै निशा केसीलाई सम्मान गरिएको छ । ‘द भ्वाइस अफ नेपाल’ मार्फत चर्चामा आएका उदाउँदा गायक तथा संगीतकर्मी ‘तिखतार’लाई पनि पुरस्कृत गरिएको छ।

नेपाली समुदायको विकास र उन्नतिमा उत्कृष्ट योगदानका निम्ति राजकुमार भण्डारीलाई ‘नइ पुरस्कार’ प्रदान गरिएको एकेडेमीले जनाएको छ।

प्रकाशित: ३० कार्तिक २०८३ १९:०० | Monday, November 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast