बाँदरको त्रासले खाद्यबाली छाड्दै भोजपुरका किसान, अदुवाखेतीमा आकर्षण

हिमाल प्रेस २९ कार्तिक २०८३ १५:१० | Sunday, November 15, 2026
बाँदरको त्रासले खाद्यबाली छाड्दै भोजपुरका किसान, अदुवाखेतीमा आकर्षण

भोजपुर- बाँदरले मकै, कोदोलगायतका खाद्यबाली नष्ट गर्न थालेपछि भोजपुरका किसान वैकल्पिक खेतीतर्फ आकर्षित हुन थालेका छन्। बाँदरबाट बाली जोगाउन कठिन भएपछि उनीहरूले अदुवाखेतीलाई आम्दानीको विकल्प बनाउन थालेका हुन्।

बाँदरले खेतबारीमा लगाएको बालीमा क्षति पुर्‍याउने क्रम बढेपछि भोजपुर नगरपालिका-६ का किसानले अदुवाखेतीलाई प्राथमिकता दिन थालेका छन्। जमिनमुनि फल्ने भएकाले बाँदरबाट जोगाउन सकिने र बजारमा पनि राम्रो मूल्य पाइने भएपछि किसानको आकर्षण बढेको हो।

भोजपुर नगरपालिका-६ की किसान गीता खड्काले बाँदरको समस्या बढ्दै गएपछि अदुवाखेती सुरु गरेको बताइन्। जमिनमुनि गाँनो लाग्ने भएकाले अदुवा बाँदरबाट सुरक्षित हुने उनको भनाइ छ। व्यावसायिक रूपमा खेती गर्न सके परम्परागत खाद्यबालीभन्दा अदुवाबाट राम्रो आम्दानी लिन सकिने उनले बताइन्।

बाँदरबाट मकै, कोदोलगायतका बाली जोगाउन निकै कठिन हुने भएकाले अदुवाखेती रोजेको खड्काले बताइन्। उनका अनुसार बाँदरको हैरानीले खेतीपाती गर्नै समस्या भइरहेका किसानका लागि अदुवाखेती एउटा विकल्प बनेको छ।

अर्की किसान सावित्रा पोखरेलले करिब डेढ रोपनी क्षेत्रफलमा अदुवाखेती गरिरहेकी छन्। आगामी दिनमा खेतीको क्षेत्रफल अझ विस्तार गर्ने उनको योजना छ। बाँदरको समस्याका कारण अन्य खाद्यबाली लगाउन कठिन भएपछि अदुवाखेतीलाई प्राथमिकता दिएको उनले बताइन्।

पोखरेलका अनुसार अदुवा स्थानीय बजारमा प्रतिकिलो एक सयदेखि एक सय २० रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ। ताजा अदुवा बिक्री गर्नुका साथै सुकाएर धुलो बनाई बजारमा पठाउन सकिने भएकाले पनि यसको खेतीमा सम्भावना देखेको उनले बताइन्। अदुवाको धुलो बनाएर बिक्री गर्न सकिने हुँदा बजार व्यवस्थापन र भण्डारणमा सहज हुने उनको भनाइ छ।

ग्रामीण क्षेत्रमा बाँदरको बढ्दो उपद्रो कृषि उत्पादनका लागि चुनौती बन्दै गएको छ। मकै, कोदोलगायतका खाद्यबालीमा क्षति पुर्‍याउँदा किसानले लगानी र मेहनतअनुसार उत्पादन लिन सकेका छैनन्। बाली जोगाउन नसक्ने अवस्था आएपछि कतिपय किसान खेतीको विकल्प खोज्न बाध्य भएका छन्।

प्रकाशित: २९ कार्तिक २०८३ १५:१० | Sunday, November 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast