‘ककाकिकी’ ‘फेक कलाकार पक्राउ’प्रकरण : मनोज गजुरेलले मागे दर्शकसामु माफी

हिमाल प्रेस २९ कार्तिक २०८३ १०:४४ | Sunday, November 15, 2026
‘ककाकिकी’ ‘फेक कलाकार पक्राउ’प्रकरण : मनोज गजुरेलले मागे दर्शकसामु माफी

काठमाडौँ- फिल्म ‘ककाकिकी’को टिमले प्रचारलाई रोचक बनाउन कलाकार पक्राउ गरेको फन्डाले अहिले चर्चा पाएको छ। ‘फेक प्रहरी’ बनाएर प्रचारका क्रममा गौरी मल्ललगायतका कलाकार पक्राउ गरेको नाटक गरेपछि आलोचना पनि भइरहेको छ। शनिबार ट्रेलर रिलिज समारोहमा निर्देशक विक्की अग्रवाल, अभिनेत्री गौरी मल्ल तथा कलाकार मनोज गजुरेल र शिशिर वाङ्देललाई नियन्त्रणमा लिएजसरी बाहिर निकाल्दै प्रहरी भ्यानमा राखिएको थियो।

उक्त दृश्य फिल्मको कथाअनुसार तयार पारिएको प्रचारात्मक प्रस्तुति थियो। तर यसबारे पूर्वजानकारी नहुँदा कार्यक्रममा उपस्थित सञ्चारकर्मी तथा दर्शकहरू झुक्किएका थिए। कलाकारहरू वास्तवमै पक्राउ परेको हो कि भन्ने भ्रम सिर्जना भएपछि यस विषयले सामाजिक सञ्जालमा चर्चा पाएको थियो। यतिबेला फिल्मको प्रचारका लागि अपनाइएको यो शैलीलाई गैरजिम्मेवार र असंवेदनशील भन्दै आलोचना भइरहेको हो।

आलोचना भएपछि फिल्मको टिमले जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्र लेख्दै उक्त दृश्य फिल्मको कथावस्तुअनुसार तयार गरिएको काल्पनिक दृश्य भएको स्पष्ट पारेको थियो। प्रहरीसँग आवश्यक समन्वय गरेरै उक्त प्रस्तुति गरिएको टिमको भनाइ छ।

यसैबीच, कलाकार मनोज गजुरेलले उक्त प्रस्तुतिका कारण दर्शकमा भ्रम सिर्जना भएको भन्दै माफी मागेका छन्।

उनले आइतबार बिहान फेसबुकमा पोस्ट लेख्दै भनेका छन्, ‘हिजो चलचित्र ककाकिकीको लागि खिचिएको दृश्य र प्रचारात्मक प्रस्तुतिका कारण धेरै दर्शकहरूमा भ्रम सिर्जना हुन पुग्यो। म व्यक्तिगत रूपमा सस्तो प्रचारबाजीभन्दा सिर्जनाको गुणस्तर र दर्शकको विश्वासमा आस्था राख्ने मान्छे हुँ। तर हिजोको प्रस्तुतिमा म स्वयं पनि सहभागी हुन पुगें। यसबाट दर्शकमा पर्न गएको भ्रम र असुविधाप्रति दुःख व्यक्त गर्दै क्षमाप्रार्थी छु।’

उनले मनोरञ्जनका नाममा समाजमा अनावश्यक भ्रम थप्नु उचित नहुने उल्लेख गर्दै प्रचारमा सिर्जनशीलतासँगै सामाजिक जिम्मेवारी पनि आवश्यक रहेको बताएका छन्। साथै, नियत राम्रो हुँदाहुँदै पनि निर्णयमा त्रुटि हुन सक्ने र त्यसलाई स्वीकार गर्दै सुधार गर्नु सर्जकहरूको दायित्व भएको उनको भनाइ छ।

गजुरेलले फिल्म धेरै कलाकार तथा प्राविधिकको मेहनतबाट निर्माण हुने भएकाले प्रचारको एउटा शैलीकै आधारमा समग्र फिल्मको मूल्यांकन नगरिदिन पनि दर्शकसँग अनुरोध गरेका छन्।

प्रकाशित: २९ कार्तिक २०८३ १०:४४ | Sunday, November 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast