रवि लामिछानेका लागि गंगासागरमा छुट्टै भीआईपी घाट, जनकपुरधाममा छठ मनाउने व्रतालुहरूको घुइँचो

हिमाल प्रेस २९ कार्तिक २०८३ १०:२९ | Sunday, November 15, 2026
रवि लामिछानेका लागि गंगासागरमा छुट्टै भीआईपी घाट, जनकपुरधाममा छठ मनाउने व्रतालुहरूको घुइँचो

जनकपुरधाम- छठ पर्वको मुख्य दिन आज जनकपुरधामका विभिन्न पोखरी तथा जलाशयहरूमा व्रतालु र श्रद्धालुहरूको घुइँचो लागेको छ। सूर्यदेव र छठी माताको आराधना गरिने यस पर्वका लागि जनकपुरधामका ऐतिहासिक पोखरी तथा घाटहरूलाई विशेष रूपमा सजाइएको छ।

यस वर्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले समेत जनकपुरधामको गंगासागरमा छठ पर्व मनाउने भएपछि त्यहाँ विशेष तयारी गरिएको छ। गंगासागरमा हरेक वर्ष हजारौँ व्रतालुहरूले सामूहिक रूपमा छठ पर्व मनाउँदै आए पनि लामिछानेका लागि छुट्टै भीआईपी घाट निर्माण गरी विशेष ढंगले सजाइएको छ। लामिछानेले हिजो जनकपुरधामका एक व्रतालुको घरमा छठ पर्वअन्तर्गतको खरना विधिमा समेत सहभागिता जनाएका थिए।

आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने परम्पराअनुसार जनकपुरधामका विभिन्न पोखरी तथा घाटहरूमा पूजासामग्री, बाँसका ढाकी, सुपली, फलफूल, ठेकुवा, कसार, नरिवल, उखु तथा अन्य प्रसाद सजाएर राखिएको छ। बिहानैदेखि गंगासागर, धनुषसागर, अर्गजा पोखरी, दशरथ तलाउ, रुक्मिणी सरसहितका जलाशयहरूमा श्रद्धालुहरूको चहलपहल बढेको छ। चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन नहाय–खाय विधिबाट पर्वको सुरुवात हुन्छ।

दोस्रो दिन खरना मनाइन्छ। यस दिन व्रतालुहरूले दिनभर उपवास बसेर साँझ पवित्रतापूर्वक बनाइएको खीर, रोटी तथा अन्य प्रसाद ग्रहण गर्छन्। खरनापछि सुरु हुने कठोर निर्जला व्रत छठ पर्वको विशेष पक्ष हो। तेस्रो दिन अर्थात् आज षष्ठी तिथिमा व्रतालुहरूले दिनभर उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन्। यसलाई सन्ध्या अर्घ्य भनिन्छ। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको समापन हुन्छ।

यस विधिलाई प्रातःकालीन अर्घ्य भनिन्छ। छठ पर्वमा सूर्यदेवसँगै छठी माताको पूजा आराधना गरिन्छ। परिवारको सुख, शान्ति, समृद्धि, सन्तानको दीर्घायु, आरोग्य तथा मनोकामना पूर्तिका लागि श्रद्धालुहरूले यो पर्व मनाउने धार्मिक विश्वास छ। प्रकृति र मानव जीवनबीचको गहिरो सम्बन्धलाई अभिव्यक्त गर्ने छठ पर्वमा सूर्य, जल र पृथ्वीप्रति कृतज्ञता प्रकट गरिन्छ। सूर्यलाई जीवन, ऊर्जा र सृष्टिको आधारका रूपमा पूजा गर्ने यस पर्वमा उदाउँदो मात्र नभई अस्ताउँदो सूर्यलाई समेत समान श्रद्धाका साथ अर्घ्य दिने परम्परा रहेको छ। छठ पर्वको अर्को महत्वपूर्ण विशेषता यसको सामाजिक र सांस्कृतिक पक्ष हो।

जातजाति, वर्ग र समुदायबीचको विभेदभन्दा माथि उठेर सामूहिक रूपमा मनाइने यस पर्वले सामाजिक सद्भाव, सहकार्य, स्वच्छता, अनुशासन र पारिवारिक एकताको सन्देश दिन्छ। मिथिलाको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचानसँग जोडिएको छठ पर्व जनकपुरधाममा विशेष उत्साहका साथ मनाइन्छ। यस अवसरमा देशका विभिन्न स्थान तथा भारतका सीमावर्ती क्षेत्रबाट समेत श्रद्धालुहरू जनकपुरधाम आउने गरेका छन्।

पोखरी तथा घाटहरूको सरसफाइ, सजावट र व्यवस्थापनले जनकपुरधामलाई छठमय बनाएको छ। आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै भोलि बिहान उदाउँदो सूर्यको दर्शन र अर्घ्यपछि यस वर्षको छठ पर्व विधिवत् सम्पन्न हुनेछ।

प्रकाशित: २९ कार्तिक २०८३ १०:२९ | Sunday, November 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast