त्यो बेला

हरिभक्त कटुवालले भूपी शेरचनको कठालो समात्दा…

राजकुमार दिक्पाल २८ कार्तिक २०८३ १३:२१ | Saturday, November 14, 2026
हरिभक्त कटुवालले भूपी शेरचनको कठालो समात्दा…

लेखकका पुराना घटना र प्रसङ्ग पढ्न पाउँदा रमाइलो मान्ने पाठक हुँ म। अग्रज पुस्ताका लेखकसँग भेट हुन पाएको अवस्थामा उनीहरूसमक्ष म यस्ता घटना र प्रसङ्गहरूबारे जिज्ञासाको बिस्कुन नै लगाउँछु।

भूपी शेरचन र हरिभक्त कटुवालबारे यस्तै एउटा रोचक घटना भएको कतै पढेको थिएँ। फेरि यसबारे पूर्ण रूपमा थाहा पाउन मन लाग्यो।

२०६६ सालतिरको कुरा पर्‍यो। भूपीका सङ्गातिमध्येका एक रत्नशमशेर थापालाई फोन गरेँ। एक सञ्चारकर्मीको नाताले कवि तथा गीतकार थापासँगको भेट सहजै सम्भव भयो। कमलपोखरीस्थित उनको घरमा पुग्दा आँगनमा मलाई नै पर्खिरहेका रहेछन्।
‘यहाँहरूलाई त आफ्नो नाममा ‘शमशेर’ लेख्न पनि राणाहरूले अनुमति दिएर मात्रै सम्भव भएको रहेछ हगि?’ बैठक कोठामा पुगी सोफामा टुसुक्क बस्नासाथ मैले जिज्ञासा राखिहालेँ।

‘हो त, हाम्रा बाबुबाजेले राणालाई रिझाएका कारण हामीले पनि शमशेर लेख्न पायौँ नि’, उनले मलाई तृप्त बनाउन खोजे।
रत्नशमशेर थापाका पुर्खाहरूको ऐतिहासिकताबारे भर्खरै मात्र मलाई केही थाहा भएको छ, उनका सन्तति गौरवशमशेर थापामार्फत।

उनीहरू गोदार थापा हुन्। वि.सं. १८२४ मा भएको सिन्धुलीगढी युद्धमा अङ्ग्रेजलाई भ्याकुरो लखेटाई लखेट्ने योद्धाहरूमध्ये एक थिए, चम्पासिंह थापा। उनैका सन्तति हुन्, प्रसिद्ध गीतकार रत्नशमशेर थापा।

पछि चम्पासिंहका सन्तति हेमदल थापा जङ्गबहादुर राणाका विश्वसनीय काजी मात्रै भएनन्, उनका छोरा गजराजसिंहसँग जङ्गबहादुरले आफ्नी जेठी छोरी वदनकुमारीसँग बिहे गरिदिए। यी दुईबाट छोरा हर्कजङ्ग थापाको जन्म भयो। जङ्गबहादुरकै आदेशअनुसार जगराजसिंहका सन्तानले जङ्ग थापा लेख्ने अवसर पाए।

यस्तै हेमदलकै कान्छी पत्नीबाट जन्मेका सँगै केशरसिंहसँगै दुई छोरी जन्मेका थिए। छोरीमध्ये नन्दकुमारीको विवाह धीरशमशेरसँग भएको थियो। धीरशमशेरको आदेशअनुसार केशरसिंहका सन्तानले आफ्नो नाममा शमशेर लेख्ने अनुमति पाए। गीतकार रत्नशमशेर थापा उनै केशरसिंहका सन्तान हुन्।

आफ्नो समयमा रत्नशमशेर थापाले भूपीसँग गजबैले सङ्गत गरेका थिए। सम्झनाका कैयौँ पाना छन्, पल्टाएर साध्य छैन, केही घण्टाको बसाइमा। त्यसैले केही सम्झनाका पाना पल्टाउन आग्रह गरेँ, मैले।
…
विद्यार्थी युनियनको आयोजनामा त्यो दिन त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको अडिटोरियम हलमा कविता गोष्ठी आयोजना गरिएको थियो। भूपी, रत्नशमशेरलगायत प्रशस्तै कविहरू निम्त्याइएका थिए। साथमा साहित्यकार पुण्यप्रसाद सुवेदी पनि थिए।
कविता गोष्ठी चल्दै थियो, केहीले वाचन पनि गरिसकेका थिए।

केही क्षणमै त्यहाँको साहित्यिक वातावरण अनपेक्षित हुन पुग्यो। कविता वाचन र श्रवण गर्न आयोजित कार्यक्रमको हलबाहिर विद्यार्थीबीच ढुङ्गा हानाहान हुन पुग्यो। ‘गोबर समूह’ र ‘खरानी समूह’ नामले प्रचारित विद्यार्थी समूहबीच ढुङ्गा हानाहान भएको थियो। गोबर समूह भनेको प्रजातन्त्रवादी विद्यार्थीको समूह र खरानी समूह भनेको चाहिँ वामपन्थी विद्यार्थीको समूह भन्ने बुझिन्थ्यो त्यो बेला।

यी जोसिला विद्यार्थी समूहबीच कुन विषय र प्रसङ्गमा विवाद पर्‍यो कुन्नि? तर त्यहाँ नयाँ सर्ट लगाएर चिटिक्क परी कविता वाचन गर्न पुगेका भूपी अनि साथमा रत्न र पुण्यजस्ता सुधा साहित्यकारहरू नराम्रो घानमा पर्ने भए।

अब त्यहाँ बसिरहन उचित थिएन। ‘एइ साथी हो, हिँड जाऊँ’, भूपीले अत्तालिएको स्वरमा साथीहरूलाई उर्दी जारी गरे। त्यो भाँडभैलोमा कविहरूलाई ज्यान जोगाउनै मुस्किल पने अवस्था आइपर्‍यो।

बिथोलिएको साहित्यिक कार्यक्रम स्थलबाट भूपी, रत्न र पुण्य अलि तल आइपुगे। अबचाहिँ ढुङ्गा प्रहारबाट जोगिने निश्चित भएपछि बल्ल भूपीको बोली फुट्यो। उनले भने, ‘आजचाहिँ एउटा उपाय फुर्‍यो साथी हो !’

‘के हो त्यस्तो उपाय ?’, साथीहरूले सोधे।

‘अबदेखि कविता वाचन गर्न जाँदा हेल्मेट लगाएर जानुपर्ने भयो’, भूपीले आफूमा फुरेको नयाँ उपाय सुनाए। त्रासमय वातावरणबाट मुस्किलले त्राण पाएका साथीहरू हाँसे, हा…हा…हा…!

कीर्तिपुरमा भएको गोलमालबाट ज्यान बचाएर हिँडेका कविहरू असन इन्द्रचोकतिर आइपुगे। साँझको समय, भूपीको नयाँ सेसन सुरु हुन लागेको थियो। त्यतिखेरै त्यहाँ कवि हरिभक्त कटुवाल पनि टुप्लुक्क देखा परे।

भूपी परे, आफू मात्रै होइन, साथीहरूलाई पनि पिलाउन पाउँदा खुब सुख सन्तुष्टि अनुभूति गर्ने खालका। त्यहीँ फेला पारिहाले, हरिभक्त कटुवाललाई। जतिबेला पनि तयार हरिभक्तलाई त्यो पनि साँझको सेसनमा ‘के खोज्छस् कानो, आँखो’ भइहाल्यो।

रत्नशमशेर हरिभक्तदेखि अलि सतर्क भए। भूपी र हरिभक्तसँग रत्नको साहित्यिक र मित्र सम्बन्ध थियो। तर यी दुवै कवि रत्नशमशेरका न क्लास फ्रेन्ड थिए, न त ग्लास फ्रेन्ड नै।

रत्नले भूपीलाई अलि पर्तिर लगेर भने, ‘ए भूपी, यो हरिभक्त खाएपछि निहुँ खोज्न थालिहाल्छ, उसलाई आज नलैजाऊँ।’

‘हैट, रत्न तिमी के भन्छौ, यार! पोखरामा म क्रिकेट खेल्दा उनले मेरो क्रिकेटका सबै सामानको हेरविचार गरिदिन्थ्यो। म भएपछि तिमीहरू फिकर नमान’, नजिकैको पसलबाट रमको बोतल किनिसकेका भूपीले सहजै उत्तर दिए।

त्यसपछि भूपीको साँझको सेसन सुरु भयो। रत्न र पुण्य परे, सुराको थोपो नखाने। दुई ‘ग्लास फ्रेन्ड’ भूपी र हरिभक्तचाहिँ जमिरहेका थिए। दिउँसो कीर्तिपुरमा भएको गोलमालकै विषयले समय खाँदै थियो, भूपी बडो रउसे पाराले घटनाको समीक्षा गरिरहेका थिए। हरिभक्तलाई सुराले समाउँदै लगिरहेको थियो।

त्यसपछि हरिभक्त पुण्यतिर खनिन सुरु गरे। त्यस्तो खास निहुँ केही थिएन। पुण्य चुपचाप बसिरहेका थिए। हरिभक्त जति खनिँदै जान्छन्, पुण्य उति नै शालीन मुद्रामा मौन थिए। पुण्य कसैलाई नबिझाउने, बौद्धिक र भद्र व्यक्ति थिए।

दिउँसो कीर्तिपुरमा भएको लफडाबाट बचेर आएको साँझ फेरि अर्को विवाद हुन थालेपछि रत्नलाई अलि झोँक चलेछ। उनले हरिभक्तलाई घुरेर हेर्न थाले। तर हरिभक्तले रोकिने छाँट ल्याएनन्। त्यसपछि साँझका सेसनको आयोजकले नै सम्झाउँदा केही लाग्छ कि भनेर रत्नले भूपीतिर याचना गरेछन्। भूपीले ‘ए हरिभक्त, के भनेको यो’ मात्र के भनेका थिए, हरिभक्त भूपीमाथि जाई लागिहाले। हरिभक्तले भूपीको सर्टको कलरमा समाते र त्यहाँबाट यसरी ताने कि उनको नयाँ सर्ट ध्वार्रै च्यातियो।

दिउँसो कविता सुनाउन जाँदा ढुङ्गामुढाबाट बल्लतल्ल बचेर आएका कवि महोदयहरू साँझ अर्को लफडामा परे। भूपी च्यातिएको सर्टमा ‘हैट यहाँ पनि बस्न नसकिने भयो’ भन्दै घरतिर गए, रत्न र पुण्य पनि आफ्नो घरतिर लागे। उनीहरू हरिभक्तलाई त्यहीँ छाडेर हिँडेछन्।

नेपाली साहित्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरूका अविस्मरणीय घटना सुनाउने रत्नशमशेर थापा पनि जेठ १५, २०७७ सालमा कीर्तिशेष भए। माथि नाम लिइएका चारैजना सर्जक भौतिक रूपमा हामीसँग छैनन्, यतिखेर।
…
संयोग पनि कस्तो अनौठो जेठ १५ गते रत्नशमशेर थापाले भौतिक संसार त्याग गर्नु र त्यसको पर्सिपल्ट जेठ १७ गते मोरङ जिल्लाको बेलबारी नगरमा रहेको एउटा प्रतिमा केही उरन्ठ्याउलाहरूबाट लडाइनु। त्यो प्रतिमा उनै पुण्यप्रसाद सुवेदीको थियो, जसको भद्र र शालीनताका बारेमा माथि उल्लेख गरिसकिएको छ।

नेपालीजनले अहिले पनि गुनगुनाइरहने एउटा गीत छ-
साँगुरी वारि नि हौ त्यो धारापानी
गड्तिरको है हजुर बालुवा
खरो नि सुर्ती नि हौ बाडुली लाग्यो
खानुहोस् है हजुर मलुवा…

यो कालजयी गीतका रचनाकार÷सङ्कलकको नाम हो, पुण्यप्रसाद सुवेदी। उनी भूपी, रत्नशमशेर र हरिभक्त कटुवालभन्दा उमेरमा थोरै जेठा थिए, त्यसैले त्यो समयको साहित्यिक जमातका सदस्यहरू उनलाई ठूल्दाइ सम्बोधन गर्थे।

केही वर्षअघि बेलबारी साहित्य विकास समितिले बेलबारी नगरको वडा नम्बर ३ मा उनको अर्धकदको प्रतिमा स्थापना गरेर उक्त चोकको नाम पनि ‘पुण्य चोक’ राखी उनको योगदानलाई चीरस्मरण गराउने कार्य गरेको थियो।

तेह्रथुमको साब्ला गाउँमा वि.सं. १९९० सालको फागुन २० गते जन्मेका पुण्य उच्चशिक्षाका लागि काठमाडौँ पुगेका थिए। उनी त्रिभुवन विश्वविद्यालयमा आयोजना हुने साहित्यिक तथा सांस्कृतिक कार्यक्रमको नेतृत्व गर्थे। यी प्रतिभाले २०४२ साल असोज ६ गते बेलबारीमा अन्तिम सास फेरे। उनले ‘दलमुखी’ कथासङ्ग्रह (२०१५) र ‘धुवाँका चक्काहरू’ कथासङ्ग्रह (२०२८) लेखेर नेपाली साहित्यलाई समृद्ध बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्।

कुनै बेला तारादेवीलगायतका कलाकार उनीकहाँ गीत माग्न पुग्थे। उनका केही गीत रेडियोमा रेकर्ड भएका छन्। तर उनी पहाड–मधेश गर्दा उकालीओराली गरेको साँगुरीगढी र धारापानीको गीत नै उनलाई चिनाउने मुख्य गीतका रूपमा स्थापित हुन पुग्यो।

समाजबाट उनले केही लिएनन्, सकेको दिएर अल्पायुमै संसार छाडे। थाहा छैन, यस्ता शालीन सर्जकको प्रतिमालाई चोट पुर्‍याएर, ढालिदिएर ती उरन्ठ्याउलाहरूले कुन्नि के पाए? न जीवित हुँदा पुण्यले आफ्नो प्रतिमा ठडिनुपर्ने माग नै गरेका थिए। सर्जकको सम्मान गर्ने सिर्जनाप्रेमीहरूले उनको प्रतिमा ठड्याए त के बिराए?
…
हुन त हामीले कवि हरिभक्त कटुवालले रक्सी खाएको मात्रै देख्यौँ। रक्सीको रन्कोले उठाएको झोँकमा उनले केही सानोतिनो झगडा गरे होलान्, जो पानीको फोका बराबर थिए। तर गीत र कवितामा पोखिने उनका झरिला सिर्जना आज कालजयी बनेर हामीमाझ लोकप्रिय हुन पुगेका छन्।

प्रवासमा रहेर नेपाली भाषा साहित्यको मायाले भुतुक्कै हुँदै उनी नेपाल आएका थिए। उनले नेपालमै रहेर धेरै लेखे। साहित्यमार्फत मानवतावादको प्रखर वकालत गरे तर उनलाई रक्सीले नै लग्यो, उनी ५० पनि कट्न पाएनन्।

स्वरसम्राट् नारायणगोपाललाई असाध्यै मन पर्ने गीतकार हुन्, हरिभक्त कटुवाल। एक दुर्लभ टेलिभिजन अन्तरवार्तामा नारायणगोपालले महत्त्वका साथ गीतकारका रूपमा हरिभक्त कटुवालका नाम लिएका छन्।

प्रकाशित: २८ कार्तिक २०८३ १३:२१ | Saturday, November 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast