काठमाडौँ- चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्ससामु जितका लागि १३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२९ रनको योगफल तयार पारेको हो।
चितवनका लागि रवि वोपाराले सर्वाधिक ४९ रनको योगदान दिए। चौथो नम्बरमा ब्याटिङमा आएका उनले ४० बलमा ३ चौका र २ छक्का सहयोगमा ४९ रन बनाउँदा स्कट कुग्लेजिनको बलमा कप्तान दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट भए।
डविड मलान १६ रन बनाउँदा दीपेन्द्रको बलमा विकेटकिपर विनोद भण्डारीको हातबाट क्याच आउट भए।
ओपनर देव खनाल ७ रनमा हेमन्त धामीको बलमा एलबीडब्लू धरापमा परे। अर्जुन साउद १५ रनमा स्कट कुग्लेजिनको बलमा बोल्ड आउट भए।
कप्तान सिकन्दर राजा १५ रनमा क्याच आउट नै भए। विवेक यादव १७ रनमा रनआउट भए।
सुदूरपश्चिमका लागि स्कट कुग्लेजिनले २ विकेट लिए। हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले समान एक विकेट आफ्नो नाममा गरे।
सुदूरपश्चिमले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।



