कञ्चनजंघा हिमाल समूह। तस्बिर स्रोत : पिक्सेल
काठमाडौँ- विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको सूचीमा नेपालका थप छवटा चुचुरालाई छुट्टै हिमालका रूपमा समावेश गराउन सरकारले अघि बढाएको पहलले नेपालको पर्वतीय पहिचान र हिमालसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डबारे नयाँ बहस सिर्जना गरेको छ।
नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) को काठमाडौँमा जारी महासभामा यी चुचुरालाई स्वतन्त्र हिमालका रूपमा मान्यता दिन औपचारिक प्रस्ताव अघि सारेपछि यस्तो बहस सुरु भएको हो।
प्रस्तावित चुचुराहरूमा ल्होत्से समूहका ल्होत्से मध्य (८,४१० मिटर) र ल्होत्से सार (८,३८२ मिटर) तथा कञ्चनजंघा समूहका यालुङ काङ (८,५०५ मिटर), कञ्चनजंघा दक्षिण (८,४७६ मिटर), कञ्चनजंघा मध्य (८,४७३ मिटर) र यालुङ काङ पश्चिम (८,०७७ मिटर) छन्।
नेपालको प्रस्ताव स्वीकृत भएमा आठ हजार मिटरभन्दा अग्ला हिमालको विश्वव्यापी सूचीमा रहेका १४ वटा चुचुराको संख्या बढेर २० पुग्नेछ। नेपालमा मात्रै यस्ता हिमालको संख्या आठबाट १४ पुग्नेछ।
यी सबै चुचुराको उचाइ समुद्री सतहबाट आठ हजार मिटरभन्दा बढी छ। कुनै चुचुरो आठ हजार मिटरभन्दा अग्लो हुँदैमा त्यसलाई स्वतन्त्र हिमाल मान्न मिल्छ कि मिल्दैन भन्ने प्रश्नको उत्तर उचाइले मात्र दिँदैन।
पर्यटनमन्त्री खडकराज पौडेल (गनेस) ले यसलाई नेपालको हिमाली पहिचान र पर्यटन प्रवर्द्धनका दृष्टिले महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन्। यसले पर्वतारोहण, साहसिक पर्यटन, अनुसन्धान र हिमाली अर्थतन्त्रका लागि नयाँ सम्भावना खोल्ने उनको भनाइ छ।
‘यसले नेपाललाई विश्वका सर्वोच्च हिमालहरूको प्रमुख केन्द्रका रूपमा थप स्थापित गर्नुका साथै पर्वतारोहण, साहसिक पर्यटन, अनुसन्धान, हिमाली अर्थतन्त्र र अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका नयाँ सम्भावना खोल्नेछ’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
‘नेपालको प्रस्ताव हिमालको संख्या थप्ने विषय मात्र होइन। यो हाम्रो हिमाली भूगोल, प्राकृतिक सम्पदा र पर्वतीय पहिचानलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष तथ्य, अध्ययन र वैज्ञानिक आधारसहित स्थापित गर्ने प्रयास पनि हो,’ उनले लेखेका छन्।
नेपालका लागि यो निश्चय नै महत्त्वपूर्ण विषय हो। संसारका सर्वोच्च हिमालहरूको देशका रूपमा नेपालको पहिचान पर्यटन प्रवर्द्धनमा मात्र सीमित छैन। हिमालले नेपालको प्राकृतिक सम्पदा, भौगोलिक विशिष्टता र अन्तर्राष्ट्रिय छविलाई परिभाषित गर्छन्।
यो पहिचान थप बलियो बनाउने प्रयास तथ्य, वैज्ञानिक आधार र अन्तर्राष्ट्रिय रूपमा स्वीकार्य परिभाषासँग पनि मेल खानुपर्छ। हिमालको संख्या बढाउने आकांक्षा र कुनै चुचुरोलाई स्वतन्त्र हिमाल मान्ने भौगोलिक आधारबीचको भिन्नता बुझ्नु आवश्यक छ।
उचाइ मात्र पर्याप्त आधार होइन
नेपालले अघि सारेको प्रस्तावको सबैभन्दा महत्त्वपूर्ण पक्ष हिमाल छुट्याउने मापदण्ड हो। संघले यी छवटा चुचुरा छुट्टै आरोहण मार्ग र आफ्नै पर्वतारोहण पहिचान भएका कारण स्वतन्त्र हिमालका रूपमा मान्यता पाउनुपर्ने तर्क गर्दै आएको छ। दुई चुचुराबीचको सबैभन्दा तल्लो बिन्दुको दूरी कम्तीमा ५०० मिटर रहेको आधार पनि संघले प्रस्तुत गरेको छ।
अन्तर्राष्ट्रिय अभ्यासमा दुई चुचुराबीचको दूरीलाई मात्र स्वतन्त्र हिमाल पहिचान गर्ने निर्णायक आधार मानिँदैन। त्यसका लागि टोपोग्राफिक प्रोमिनेन्स अर्थात् कुनै चुचुरो आफ्नो रिज (दुई हिमाल छुट्याउने भाग) को सबैभन्दा तल्लो बिन्दुभन्दा कति अग्लो छ भन्ने मापनलाई महत्त्व दिइन्छ। यसले कुनै चुचुरो मुख्य हिमालको सहायक चुचुरो मात्र हो वा छुट्टै पहिचान भएको हिमाल हो भन्ने छुट्याउन मद्दत गर्छ।
यसलाई सगरमाथा र ल्होत्सेको उदाहरणबाट बुझ्न सकिन्छ। दुवै हिमालको आरोहण मार्ग सगरमाथा आधार शिविरबाट सुरु भएर खुम्बु आइसफल हुँदै क्याम्प १, क्याम्प २ र क्याम्प ३ सम्म एउटै क्षेत्रमा पर्छ। दक्षिण कोलमा रहेको क्याम्प ४ पुगेपछि मात्र यी दुई हिमालका आरोहण मार्ग छुट्टिन्छन्।
ल्होत्से सगरमाथासँग भौगोलिक रूपमा जोडिएको भए पनि यसको टोपोग्राफिक प्रोमिनेन्स करिब ६१० मिटर छ। यसको अर्थ ल्होत्सेको उचाइ ल्होत्से र सगरमाथाबीचको न्यूनतम बिन्दु अर्थात् साउथ कोलभन्दा ६१० मिटर बढी छ। यो स्वतन्त्र हिमालको पहिचानका लागि आवश्यक न्यूनतम ३०० मिटरको टोपोग्राफिक प्रोमिनेन्सभन्दा माथि हो। यही कारण ल्होत्सेले स्वतन्त्र हिमालको पहिचान पाएको छ।
प्रस्तावित चुचुराको भौगोलिक अवस्था
नेपालले छुट्टै हिमालको मान्यता मागेका ल्होत्से समूहका दुई चुचुराको टोपोग्राफिक प्रोमिनेन्स निकै कम छ। ल्होत्से मध्यको उचाइ ८,४१० मिटर र ल्होत्से सारको ८,३८३ मिटर छ। यी चुचुरा ल्होत्सेको रिजमा रहेकाले तिनको टोपोग्राफिक प्रोमिनेन्स ल्होत्से र सम्बन्धित चुचुराबीचको न्यूनतम बिन्दुको उचाइका आधारमा मापन गरिन्छ।
यसरी हेर्दा ल्होत्से मध्यको टोपोग्राफिक प्रोमिनेन्स करिब ६० मिटर र ल्होत्से सारको ८६ मिटर छ। यी दुवै प्रचलित ३०० मिटरको मापदण्डभन्दा निकै तल छन्। यही कारण यी चुचुरालाई स्वतन्त्र आठ हजार मिटर अग्ला हिमालका रूपमा वर्गीकरण गर्ने नेपालको पुरानो प्रयासले अन्तर्राष्ट्रिय मान्यता पाउन सकेको छैन।
कञ्चनजंघा समूहका चार चुचुराको अवस्था पनि यस्तै देखिन्छ। यालुङ काङको टोपोग्राफिक प्रोमिनेन्स करिब १३५ मिटर, कञ्चनजंघा दक्षिणको ११९ मिटर र कञ्चनजंघा मध्यको ३२ मिटर छ। यालुङ काङ पश्चिमको प्रोमिनेन्स करिब ३० देखि ४० मिटर रहेको उल्लेख छ।
टोपोग्राफिक प्रोमिनेन्सको मापदण्ड हरेक अवस्थामा लागू हुने अपरिवर्तनीय नियम हो भन्ने ठान्नु पनि उचित हुँदैन। सम्बन्धित संस्थाले कुन परिभाषा र मापदण्ड अपनाउँछ, त्यसको औपचारिक व्याख्या के छ र प्रस्तावित चुचुराको मापन कसरी गरिएको छ भन्ने विषय महत्त्वपूर्ण हुन्छ।
नेपालको दाबीलाई टोपोग्राफिक प्रोमिनेन्सको मापनका आधारमा खारेज गर्न खोज्नु पनि उचित हुँदैन। संघले प्रस्तावित चुचुराहरूको आफ्नै आरोहण मार्ग र पर्वतारोहण इतिहास रहेको बताएको छ। सरकारी तथ्यांकअनुसार यालुङ काङमा ५० भन्दा बढी आरोहण भएका छन्। ल्होत्से सारमा करिब २५ र ल्होत्से मध्यमा करिब १० आरोहण भएको उल्लेख छ।
यी तथ्यले प्रस्तावित चुचुराहरू आरोहीका लागि महत्त्वपूर्ण छन् भन्ने देखाउँछन्। कुनै चुचुरोमा छुट्टै आरोहण मार्ग विकास भएको छ, त्यसले प्राविधिक चुनौती प्रस्तुत गर्छ र त्यसको आफ्नै आरोहण इतिहास छ भने पर्वतारोहणको दृष्टिले त्यसलाई विशिष्ट मान्न सकिन्छ। तर पर्वतारोहणको पहिचान र भौगोलिक वर्गीकरण एउटै कुरा होइनन्। आरोहीले छुट्टै लक्ष्यका रूपमा चढ्ने प्रत्येक चुचुरो स्वतन्त्र हिमाल नै हुनुपर्छ भन्ने निष्कर्ष निकाल्न मिल्दैन।
नेपालले आफ्नो दाबीलाई अझ प्रभावकारी बनाउन यी दुई पक्षलाई अलग-अलग प्रस्तुत गर्नुपर्छ। प्रस्तावित चुचुराहरूको पर्वतारोहण इतिहास, आरोहण मार्ग, प्राविधिक विशेषता र पर्यटन सम्भावना एउटा विषय हो भने तिनलाई स्वतन्त्र आठ हजार मिटर अग्ला हिमालका रूपमा वर्गीकरण गर्ने भौगोलिक आधार अर्को विषय हो।
थप छवटा चुचुरालाई आठ हजार मिटरभन्दा अग्ला स्वतन्त्र हिमालको मान्यता दिलाउने नेपालको प्रयास सफल हुन्छ कि हुँदैन भन्ने कुरा अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघको परिभाषा र त्यसले गर्ने निर्णयमा निर्भर हुनेछ। नेपालले आफ्नो हिमाली सम्पदाको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्नुपर्छ। त्यसका लागि वैज्ञानिक मापदण्डलाई बाधक होइन, आधारका रूपमा लिनुपर्छ। हिमालको संख्या बढाउनु उपलब्धि हुन सक्छ; तर त्यो उपलब्धि विश्वसनीय वैज्ञानिक आधारमा स्थापित हुनु अझ ठूलो उपलब्धि हुनेछ।



