दियो र हुक्कापाती बेचेर तिहार खर्च जुटाउँदै कुमाले महिला

हिमाल प्रेस १६ कार्तिक २०८३ १४:२१ | Monday, November 2, 2026
8
SHARES
दियो र हुक्कापाती बेचेर तिहार खर्च जुटाउँदै कुमाले महिला

सप्तरी- तिहार नजिकिएसँगै जिल्लाका विभिन्न गाउँका कुमाले महिला दियो र हुक्कापाती बेचेर खर्च जुटाउने गरेका छन्। उनीहरूले लक्ष्मी पूजामा बाल्न राजविराज क्षेत्रका घरघर पुगेर आफ्ना उत्पादन दियो र हुक्कापाती बिक्री गरेका हुन्।

ती समुदायका विपन्न महिला दीपावलीको खर्च जुटाउन घरघर गएर हुक्कापाती बिक्री गरिरहेका राजविराज नगरपालिका–११ कविता यादवले बताइन्।

तिहार आउनु केही समयअघि देखि नै हुक्कापाती दियो बनाउने अनि त्यसबाट प्राप्त रकमबाट तिहारको खर्च जुटाउने विगतदेखिकै अभ्यास रहेको उनको भनाइ छ।

मजदुरी गरी परिवार पाल्दै आएकाले ती समुदायका महिलाले चाडबाडमा खर्च जुटाउन हुक्कापातीलाई आयआर्जन प्रमुख माध्यम बनाइरहेको देखिन्छ। दुई हजारको सामानबाट हुक्कापाती बनाएर बिक्री गर्दा रु १५ हजारसम्म सकिने उनीहरुको भनाइ छ।

कुमाले समुदायले दियो र हुक्कापाती बनाएर घरघरमा पुर्‍याएपछि सहरका उपभोक्तालाई त्यसका लागि आवश्यक सामाग्री जुटाएर तयार पार्ने समस्या र बाध्यता हटेको छ। हुक्कापातीका लागि सन्ठी, खर र सनपाट घरमा ल्याएर घण्टौँ लगाएर बनाउने गरिन्छ।

विगतमा घरघरमा बनाइने हुक्कापाती अहिले विशेषगरी सहरी भेगमा किनेर प्रयोग गर्न थालेको राजविराज नगरपालिका–७ का उर्मिला देवले बताइन्। उनले भनिन्,‘पहिले बजारमा बनाएको हुक्कापाती किन्न पाइँदैनथ्यो। सन्ठी, खर र सनपाट किनेर ल्याएर घरघरमा बनाइने चलन थियो। तर, अहिले सहरी क्षेत्रमा हुक्कापाती बनाउने चलन हराउँदै गएको छ। हाल किनेर प्रयोग गर्ने परम्परा बढेको छ।’

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका तोपाकी रूकमिणी यादवलाई एक हप्ता यता हुक्कापाती बनाउन भ्याइनभ्याइ छ। घरको काम सकेर दिनहुँ बनाएको हुक्कापाती बेचेर तिहारमा रु १५ देखि २० हजार आम्दानी गर्दै आएको छ। उनले भनिन्, ‘जति लक्ष्मीपूजा नजिकिँदै जान्छ त्यति बिक्री हुने गरेको छ। दिनको ३०० देखि ५०० हुक्कापाती बिक्री हुँदै आएको छ। रु १० देखि २० प्रतिहुक्कापाती बेच्दै आएकी छु।’

लक्ष्मी पूजाको दिन पूजा हुनुअघि घरमाथि, तुल्सामोठ, कुलदेवताको कोठा तथा मन्दिरमा मधेसमा हुक्कापाती राख्ने चलन छ। लक्ष्मीपूजा सकिएसँगै प्रत्येक घरपरिवारमा हुक्कापाती अनिवार्य खेल्ने परम्परा छ। त्यस कार्यले कुल पितृ उज्यालो मार्गमार्फत स्वर्गमा जान्छन् भन्ने जनविश्वास छ।

त्यस्तै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाकी कविता पण्डित यतिबेला माटोको दियो बनाउन व्यस्त छिन्। घरको काम सकेर दियो बनाउने अनि घरघरमा गएर दियो बेच्दै आएको उनले बताइन्। दैनिक दुई हजार दियो बोकेर बजार जाने र प्रतिदियो रु दुईमा बेच्ने गरेको उनको भनाइ छ।

प्रकाशित: १६ कार्तिक २०८३ १४:२१ | Monday, November 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast