एलपी ग्यास आयात २३ प्रतिशत बढ्यो, अभाव कायमै

हिमाल प्रेस १२ कार्तिक २०८३ ९:०६ | Thursday, October 29, 2026
12
SHARES
एलपी ग्यास आयात २३ प्रतिशत बढ्यो, अभाव कायमै

काठमाडौँ- चालु आर्थिक वर्षको पहिलो तीन महिनामा खाना पकाउने एलपी ग्यासको आयात २३.३४ प्रतिशतले बढे पनि नेपालमा ग्यासको अभाव कायमै छ। विश्वव्यापी आपूर्ति अवरोध र आन्तरिक ढुवानी तथा वितरणमा देखिएका समस्याले बजारमा ग्यासको आपूर्ति प्रभावित भइरहेको हो।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोज मध्यसम्ममा ग्यास उद्योगहरूले २३ अर्ब १८ करोड रुपैयाँबराबरको एक लाख ७१ हजार ९८४.८७ टन एलपी ग्यास आयात गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा १३ अर्ब ९८ करोड रुपैयाँबराबरको एक लाख ३९ हजार ४३४.४५ टन ग्यास आयात भएको थियो।

आयात बढे पनि बजारमा भरिएका सिलिन्डरको नियमित आपूर्ति हुन सकेको छैन। उपभोक्ताले खाना पकाउने ग्यास पाउन अझै कठिनाइ भोगिरहेका छन्।

इरानले अन्तर्राष्ट्रिय ऊर्जा ढुवानीको प्रमुख मार्ग होर्मुज जलमार्ग बन्द गर्ने निर्णय गरेपछि विश्वव्यापी आपूर्ति प्रणालीमा अवरोध आएको थियो। त्यसको असर नेपालमा पनि परेको थियो। ग्यास आपूर्तिमा समस्या भएपछि सरकारले उपलब्ध मौज्दात व्यवस्थापन गर्न विभिन्न उपाय अपनाएको थियो।

चैतको अन्तिम साता सरकारले ग्यास उद्योगहरूलाई नियमित १४.२ किलोग्रामका सिलिन्डरको सट्टा आधा भरिएका सिलिन्डर बजारमा पठाउन निर्देशन दिएको थियो। बजारमा ग्यासको अभाव कम हुने अपेक्षासहित गरिएको उक्त निर्णयले भने समस्या समाधानमा खासै मद्दत गरेन।

सरकारले असार ३० गते उक्त निर्णय उल्ट्याउँदै नियमित १४.२ किलोग्रामकै सिलिन्डर बजारमा पठाउन उद्योगहरूलाई निर्देशन दिएको थियो। सरकारले केही दिन आफ्नै माध्यमबाट समेत ग्यास सिलिन्डर वितरण गर्ने प्रयास गरेको थियो। यो निर्णय पनि प्रत्युत्पादक बन्यो।

आन्तरिक ढुवानीका समस्याले ग्यास वितरणलाई थप जटिल बनाएको छ। भदौ १० गतेको भोटेकोशी बाढीले सडक सम्पर्क अवरुद्ध गर्दा काठमाडौँ उपत्यका र आसपासका ग्यास उद्योगसम्म ग्यास बोक्ने बुलेटको आवागमन प्रभावित भयो।

ढुवानी मार्ग अवरुद्ध भएपछि उपत्यका र आसपासका उद्योगहरूले साना ट्रकमा सिलिन्डर राखेर तराईका ग्यास उद्योगमा रिफिल गर्न पठाउनुपरेको थियो। त्यहाँ ग्यास भरेपछि ती सिलिन्डर पुनः काठमाडौं ल्याउनुपर्ने अवस्था बन्यो। यसले ढुवानीको अतिरिक्त भार बढाउनुका साथै बजारमा ग्यासको अभाव चर्काउन योगदान पुर्‍यायो।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासका तीनै महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ग्यास आयात बढी भएको छ।

साउनमा ग्यास आयात ५७ हजार ३३४.१० टन पुगेको थियो। गत आर्थिक वर्षको सोही महिनामा ४४ हजार ३१८.८४ टन ग्यास आयात भएको थियो।

भदौमा आयात बढेर ५९ हजार ८३३.९८ टन पुगेको थियो। गत वर्षको सोही अवधिमा ४७ हजार ६४४.६९ टन ग्यास आयात भएको थियो।

असोजमा भने आयात घटेर ५४ हजार ८१६.७९ टनमा सीमित भएको छ। यद्यपि यो परिमाण गत आर्थिक वर्षको सोही महिनाको ४७ हजार ४७०.९२ टनभन्दा बढी हो।

मासिक तथ्यांकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामै ग्यास आयात बढेको देखाउँछ। तर भदौको तुलनामा असोजमा आयात केही घटेको छ। आयात परिमाण बढे पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसक्नुले आपूर्ति र वितरण व्यवस्थापनमा देखिएको समस्या अझै समाधान हुन नसकेको संकेत गर्छ।

प्रकाशित: १२ कार्तिक २०८३ ९:०६ | Thursday, October 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast