सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा बलबीचको द्विपक्षीय समन्वय बैठक काठमाडौँमा

हिमाल प्रेस ११ कार्तिक २०८३ १६:४७ | Wednesday, October 28, 2026
10
SHARES
सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा बलबीचको द्विपक्षीय समन्वय बैठक काठमाडौँमा

काठमाडौँ- सीमा सुरक्षा तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने, सीमा अपराध नियन्त्रण गर्ने तथा नेपाल र भारतका सीमावर्ती सुरक्षा निकायबीच आपसी समन्वय र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपाल र सशस्त्र सीमा बल (एसएसबी), भारतबीच १०औँ द्विपक्षीय समन्वय बैठक काठमाडौँमा सुरु भएको छ।

कात्तिक १३ गतेसम्म सञ्चालन हुने उक्त बैठकमा दुवै देशका सीमा सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको छ।

बैठकमा नेपालको तर्फबाट गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग तथा नापी विभागका प्रतिनिधिहरूसहितको प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले गरेका छन्।

त्यसैगरी, भारतीय पक्षबाट गृह मन्त्रालय, विदेश मन्त्रालय, नेपालस्थित भारतीय राजदूतावास तथा सशस्त्र सीमा बलका उच्चपदस्थ अधिकृतहरूसहितको प्रतिनिधिमण्डलको नेतृत्व एसएसबीका महानिर्देशक सञ्जय सिंघलले गरेका छन्।

बैठकमा सीमा सुरक्षा व्यवस्थापन, सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण, मानव बेचबिखन तथा लागूऔषध ओसारपसार नियन्त्रण, अवैध हातहतियार तथा अन्य सामग्रीको तस्करी नियन्त्रण र सीमावर्ती क्षेत्रमा शान्ति तथा सुव्यवस्था कायम गर्ने विषयमा हालसम्म भएका समन्वयात्मक प्रयासहरूको समीक्षा गरिनेछ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार  दशगजामा हुने अतिक्रमण हटाउने, सीमा स्तम्भहरूको संरक्षण, मर्मतसम्भार तथा निर्माण, सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण र सीमापार प्रभाव पार्न सक्ने महामारी तथा विपद्का जोखिम न्यूनीकरणका विषयमा छलफल हुनेछ। सीमा क्षेत्रमा उत्पन्न हुन सक्ने समस्याको समयमै पहिचान तथा समाधानका लागि नियमित समन्वय बैठक, तत्काल सूचना आदानप्रदान र प्रभावकारी सम्पर्क संयन्त्रको विकासमा समेत जोड दिइनेछ।

बैठकमा नेपाल-भारत खुला सीमाको दुरुपयोग गरी तेस्रो मुलुकका नागरिकबाट हुन सक्ने अवैध आवागमनलाई नियमन गर्ने, सीमा व्यवस्थापनलाई आधुनिक र प्रभावकारी बनाउन उपयुक्त प्रविधिको प्रयोग गर्ने तथा दुवै सुरक्षा निकायको क्षमता अभिवृद्धि र संस्थागत सहयोग विस्तार गर्ने विषयमा पनि विचारविमर्श हुनेछ।

विपद् पूर्वतयारी तथा प्रतिकार्यमा संयुक्त सहकार्यलाई प्रभावकारी बनाउने, सीमा नाकाहरूमा यात्रुहरूको सहजताका लागि सहायता कक्ष स्थापना गर्ने तथा सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकसँगको सम्बन्ध सुदृढ बनाउन मैत्रीपूर्ण खेलकुदलगायतका आपसी समन्वय अभिवृद्धिमूलक गतिविधि सञ्चालन गर्ने विषयसमेत बैठकको छलफलमा समेटिने प्रवक्ता कार्कीले बताए।

प्रकाशित: ११ कार्तिक २०८३ १६:४७ | Wednesday, October 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast