काठमाडौँ- फुटबलको सबैभन्दा पुरानो प्रतिद्वन्द्वितामध्येको एक फेरि चर्चामा छ। आइतबार हुने बहुप्रतीक्षित खेलमा बार्सिलोनाले रियल म्याड्रिडको आतिथ्य गर्दै छ। बार्सिलोनाको क्याम्प नोउमा हुने खेल नेपाली समयअनुसार मध्यराति १ः४५ बजे हुनेछ।
ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना घरेलु मैदानको फाइदा उठाउँदै आफ्नो अग्रता बलियो बनाउने लक्ष्यमा हुनेछ। हान्सी फ्लिकको टोलीले लिगमा सबै ९ खेल जितेको छ।
च्याम्पियन्स लिगमा मंगलबार पेरिस सेन्ट जर्मन (पिएसजी) सँग ४-२ ले पराजित भएपछि बार्सिलोना दबाबमा छ। उक्त हार यो सिजन सबै प्रतियोगितामा बार्सिलोनाको पहिलो पराजय हो।
रियाल लगातार चार खेल जित्दै एल क्लासिकोमा उत्रनेछ। जोसे मउरिन्होको नेतृत्वमा रहेको टोलीले पछिल्लो समय लय समातेको छ। बुधबार आरबी लाइपजिगलाई पराजित गरेको रियालले बार्सिलोनालाई हराउँदै उपाधि दौडमा आफ्नो स्थिति बलियो बनाउने प्रयास गर्नेछ। रियालले लिगमा सात खेल जितेको छ। रियालले दुई हार एट्लेटिको मड्रिड र रियाल बेटिसविरुद्ध बेहोरेको छ।
हेड टु हेड हेर्ने हो भने यी दुईबीचको पछिल्लो सात एल क्लासिकोमध्ये ६ खेलमा बार्सिलोना विजयी भएको छ।
स्पेनी भाषामा ‘द क्लासिक’ अर्थात् ‘ऐतिहासिक भिडन्त’ भनिने एल क्लासिकोमा स्पेनिस ला लिगाका यी दुई दिग्गज क्लबबीचको प्रतिस्पर्धा हेर्न विश्वभरबाट लाखौँ दर्शक उत्सुक छन्। विश्वका उत्कृष्ट खेलाडीहरूको सहभागिताले पनि यी खेललाई विशेष बनाउँदै आएको छ।
लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोबीचको प्रतिस्पर्धादेखि नेयमार जुनियर, लुइस स्वारेज, डेभिड बेकह्याम र जिनेदिन जिदानसम्मका खेलाडीले समर्थकलाई रोमाञ्चित बनाएका छन्।
पछिल्ला वर्षमा भने बार्सिलोनाका लामिन यामाल र राफिन्हा तथा रियल म्याड्रिडका किलियान एम्बाप्पे, जुड बेलिंघम र भिनिसियस जुनियर चर्चामा छन्।
सन् १९०२ देखि सुरु भएको यी दुई क्लबबीचको प्रतिद्वन्द्विता लामो इतिहास बोकेको छ।
आइतबारको बार्सिलोना र रियल म्याड्रिडबीचको भिडन्तअघि यी दुई टोलीबीचका पाँच अविस्मरणीय खेल यस्ता छन् :
१. रियल म्याड्रिड २-३ बार्सिलोना (२३ अप्रिल २०१७, ला लिगा)
सूचीको थालनी एउटा ऐतिहासिक खेलबाट हुन्छ। यो बार्सिलोनाका समर्थकले सबैभन्दा बढी सम्झिने जितमध्ये एक हो। खेलको इन्जुरी समयमा लियोनल मेसीले गरेको गोलले बार्सिलोनालाई रियल म्याड्रिडविरुद्ध जित दिलाएको थियो।
म्याड्रिडस्थित सान्टियागो बर्नाबेउ मैदानमा कासेमिरोले पहिलो हाफमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। तर पाँच मिनेट नबित्दै मेसीले बार्सिलोनाका लागि बराबरी गोल गरे।
दोस्रो हाफमा इभान राकिटिचले गोल गरेपछि बार्सिलोना अग्रता लिन सफल भयो। त्यसपछि मेसीमाथि दुई खुट्टाले ट्याकल गरेका रियलका कप्तान सर्जियो रामोसले रातो कार्ड पाए र मैदान छाड्नुपर्यो।
८५औँ मिनेटमा जेम्स रोड्रिगेजले गोल गरेपछि रियलका समर्थकले राहतको सास फेरे। तर खेलको अन्तिम प्रहारमा मेसीले निर्णायक गोल गर्दै बार्सिलोनाका लागि आफ्नो ५००औँ गोल पूरा गरे।
यो रोमाञ्चक खेल इतिहासकै उत्कृष्ट एल क्लासिकोमध्ये एकका रूपमा चर्चित भयो। सुरुदेखि अन्त्यसम्म दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरेका थिए।
यो जितसँगै बार्सिलोना केही समयका लागि अंकतालिकाको शीर्ष स्थानमा पुगे पनि अन्ततः रियल म्याड्रिडले त्यस सिजनको ला लिगा उपाधि जित्यो। रियलले क्याटलान प्रतिद्वन्द्वी बार्सिलोनाभन्दा तीन अंक बढी हासिल गरेको थियो।
२. बार्सिलोना ३-३ रियल म्याड्रिड (१० मार्च २००७, ला लिगा)
अब समयलाई अझ पछाडि फर्काऔँ। बार्सिलोनाको क्याम्प नोउ मैदानमा भएको यस खेलले समर्थकलाई मेसीको असाधारण प्रतिभाको पहिलो झलक दिएको थियो।
त्यतिबेला १९ वर्षका मेसीले रियल म्याड्रिडविरुद्ध आफ्नो व्यावसायिक खेलजीवनको पहिलो ह्याट्रिक गरेका थिए। दस खेलाडीमा सीमित बार्सिलोनालाई उनले बराबरीमा पुर्याएका थिए।
रियलका रुड भान निस्टलरोयले पहिलो हाफमा दुई गोल गरे भने सर्जियो रामोसले दोस्रो हाफमा अर्को गोल थपे। तर मेसीले इन्जुरी समयको पहिलो मिनेटमा बराबरी गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए।
मेसीको त्यो प्रदर्शनले भविष्यमा उनले फुटबलमा कायम गर्ने प्रभुत्वको संकेत गरेको थियो।
रोचक पक्ष के थियो भने त्यस सिजन रियल म्याड्रिड र बार्सिलोनाले समान ७६ अंक हासिल गरेका थिए। तर बार्सिलोनाविरुद्धको आपसी खेलको राम्रो नतिजाका आधारमा रियलले उपाधि जितेको थियो।
३. रियल म्याड्रिड ४-२ बार्सिलोना (१० अप्रिल २००५, ला लिगा)
सूचीको अर्को खेलमा रियल म्याड्रिडले सानदार जित निकालेको थियो। फ्लोरेन्टिनो पेरेजको अध्यक्षतामा महँगा मूल्यमा अनुबन्ध गरिएका विश्वस्तरीय खेलाडीहरूको समूह ‘ग्यालेक्टिकोस’ ले रियलको टोलीलाई आकर्षक बनाएको थियो। घरेलु मैदानमा रियलले प्रभावशाली जित हासिल गर्यो।
फ्रान्सका महान् खेलाडी जिनेदिन जिदानले सुरुआती गोल गरे। त्यसपछि ब्राजिलका रोनाल्डो नाजारियोले अग्रता दोब्बर बनाए भने राउलले अर्को गोल थपे। ६५औँ मिनेटमा माइकल ओवेनले गोल गर्दै रियलको जित सुनिश्चित गरे।
डेभिड बेकह्याम, रोबर्टो कार्लोस, लुइस फिगो र इकर कासियासजस्ता रियलका चर्चित खेलाडी पनि त्यस दिन मैदानमा थिए।
बार्सिलोनाका लागि सामुएल इटो र रोनाल्डिन्होले गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। यद्यपि त्यस सिजनको ला लिगा उपाधि भने बार्सिलोनाले नै जित्यो। बार्सिलोना अंकतालिकाको शीर्ष स्थानमा रियलभन्दा तीन अंक अगाडि रह्यो।
४. रियल म्याड्रिड २-६ बार्सिलोना (२ मे २००९, ला लिगा)
थियरी हेनरी र लियोनल मेसीको जोडीले यस खेलमा रियल म्याड्रिडलाई स्तब्ध बनाएको थियो। रियलको घरेलु मैदानमै बार्सिलोनाले गोलको वर्षा गर्दै सानदार जित हासिल गरेको थियो।
१४औँ मिनेटमा गोन्जालो हिग्वेनले गोल गर्दै रियललाई अग्रता दिलाएपछि समर्थकले राम्रो नतिजाको आशा गरेका थिए। तर चार मिनेटभित्रै अन्रीले बराबरी गोल गरेपछि खेलको दिशा बदलियो।
त्यसपछि हेनरीले दोस्रो गोल गर्दै व्यक्तिगत दुई गोल पूरा गरे। मेसीले पनि दुई गोल गरे भने कार्लेस पुयोल र जेरार्ड पिकेले एकएक गोल थपे।
दोस्रो हाफमा रामोसले रियलका लागि अर्को गोल गरे पनि त्यसले नतिजामा खासै फरक पारेन। आफ्नै मैदानमा रियलले चिरप्रतिद्वन्द्वी बार्सिलोनासँग ६-२ को लज्जास्पद हार बेहोर्नुपर्यो।
त्यस सिजन बार्सिलोनाले ला लिगा उपाधि सहजै जित्यो। बार्सिलोना अंकतालिकामा रियलभन्दा नौ अंक अगाडि रह्यो।
५. रियल म्याड्रिड १-० बार्सिलोना (२० अप्रिल २०११, कोपा डेल रे फाइनल)
सूचीको अन्तिम खेल क्रिस्टियानो रोनाल्डोको निर्णायक प्रदर्शनसँग सम्बन्धित छ। यही जितले रियल म्याड्रिडलाई उपाधि दिलाएको थियो।
सन् २०११ को कोपा डेल रे फाइनलमा बार्सिलोना र रियल म्याड्रिडबीच रोमाञ्चक एल क्लासिको भएको थियो।
निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। धेरैले उपाधिको निर्णय पेनाल्टी सुटआउटबाट हुने अनुमान गरेका थिए।
तर अतिरिक्त समयमा रोनाल्डोले आफ्नो जादु देखाए। पोर्चुगलका यी स्टार खेलाडीले एन्जेल डि मारियाको पासमा उत्कृष्ट हेडर गोल गर्दै रियललाई जित दिलाए। यो प्रशिक्षक जोसे मोरिन्होको नेतृत्वमा रियलले जितेको पहिलो उपाधि थियो।
केही समयपछि दोस्रो पहेँलो कार्ड पाएर डी मारिया मैदानबाट बाहिरिए पनि त्यसले रियलको जितमा असर गरेन। रोनाल्डोको निर्णायक गोलसँगै रियलले सन् १९९३ पछि पहिलोपटक घरेलु नकआउट प्रतियोगिताको उपाधि जित्यो।



