काठमाडौँ– बाँकेको राप्तिसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुई कार आपसमा ठोक्किएका छन् ।
उक्त दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ ।
शनिबार (कात्तिक ७) करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र. ०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन् ।
उक्त दुर्घटनामा परी बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलाली धनगढी उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं बस्ने ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको छ । उपचारका क्रममा १०:०८ बजे उनलाई चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जानकारी दिएको छ ।
सोही कारमा सवार ४० वर्षीया कुसुम शाही र १६ वर्षीय सुभम शाहीको अवस्था सामान्य रहेको छ भने घाइते कार चालक डोटी, साविक मुदेगाउँ गाविस–७ घर भएका ४५ वर्षीय नरेन्द्रबहादुर शाहीको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रा.लि.मा उपचार भइरहेको छ ।
त्यस्तै, बा.प्र. ०१–०३० च ८४९६ नम्बरको कारमा सवार दाङ घोराही उपमहानगरपालिका–७ बस्ने ५५ वर्षीय ओमभक्त योगी, ५५ वर्षीया प्रीति योगी र २३ वर्षीया सुप्रिया गिरी घाइते भएका छन् । उनीहरूको नेपालगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
८४९६ नम्बरको कारका चालक दाङ घोराही उपमहानगरपालिका–७ सौरियार बस्ने करिब ४० वर्षीय सम्राट नाथ योगीलाई चोटपटक नलागेको र इलाका प्रहरी कार्यालय कुसुम, बाँकेले नियन्त्रणमा लिएको छ । दुर्घटनाका कारण अवरुद्ध सडक १०:१५ बजे पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।



