यात्रा संस्मरण

पदयात्राको एक उत्कृष्ट गन्तव्य शिवपुरी

अमृतप्रसाद पौड्याल ७ कार्तिक २०८३ ११:५८ | Saturday, October 24, 2026
16
SHARES
पदयात्राको एक उत्कृष्ट गन्तव्य शिवपुरी

हिजोआज काठमाडौँ उपत्यकालाई वरिपरिबाट नियालेर बसेका शिवपुरी, फूल्चोकी, चन्द्रागिरिलगायतका चुचुराहरू एकदिने पदयात्राका उपयुक्त गन्तव्य बनेका छन्। सडक तथा यातायातको सुविधाका कारण उपत्यकाको जुनसुकै स्थानबाट पनि केही घण्टामै यी चुचुराहरूको फेदीसम्म पुग्न सकिन्छ। यसै क्रममा काठमाडौँको उत्तरपूर्वी दिशामा अवस्थित शिवपुरी चुचुरो (२,७३२ मिटर) मा पदयात्राका लागि पुनः जाने योजना बन्यो।

सोही योजनाअनुसार दुई हजार त्रियासी साल असोज चार गते आइतबार बिहान सात बजे ‘हाइक फर हेल्थ’ नामक हिँडन्तेहरूको अनौपचारिक समूहका सदस्यमध्ये हामी पाँचजना बूढानीलकण्ठमाथि रहेको मुहानपोखरीमा जम्मा हुन आआफ्ना गुँडबाट निस्कियौँ। बिहानको तयारी र अन्य काम गर्दागर्दै हामी दुईजना मुहानपोखरी पुग्न केही ढिला भयौँ। सात बजे नै त्यहाँ पुगेर हामीलाई कुरिरहनुभएका साथीहरूमध्ये एकजनाले भन्नुभयो, ‘तपाईंहरूलाई हामीले धेरै बेर कुरिसक्यौँ। बरु हामी हिँड्न थाल्छौँ। हेलिप्याडमा भेटौँला।’

करिब सवा सात बजे हामी पनि शिवपुरी राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट एक सय रुपैयाँको टिकट काटी सुरक्षा जाँच पार गरेर पदयात्रामा अघि बढ्यौँ। पाँच-सात मिनेट हिँडेपछि हेलिप्याडमा छिटो पुग्ने सोचले घुमाउरो तर फराकिलो कच्ची सडक छाडेर अलिकति उकालो र भिरतर्फ सोझिएको सानो बाटो पछ्याउँदै उक्लन थाल्यौँ। त्यसअघि साथीहरूलाई सम्पर्क गर्ने प्रयास गरेका थियौँ।

सायद अग्ला रूख, बाक्ला झाडी र बुट्यानका कारण मोबाइलको सङ्केत कमजोर थियो। सम्पर्क भए पनि उहाँहरू कुन स्थानमा हुनुहुन्छ भन्ने कुरा स्पष्ट बुझ्न सकिएन। त्यसैले पहिले नै तय गरिएको गन्तव्यमा उहाँहरूसँग भेट हुने विश्वासमा अघि बढ्यौँ।

छोटो बाटो रोजेकाले स्याँस्याँ र फ्याँफ्याँ गर्दै भिर र कान्ला हुँदै करिब पैँतालीस मिनेटको उकालोपछि हामी हेलिप्याड भन्ने स्थानमा पुग्यौँ। त्यहाँबाट थोरै पूर्वतर्फ ढुंगाका सिँढी हुँदै ओर्लिएपछि मुहानपोखरीबाट दाहिनेतर्फ मोडिँदै नागी गुम्बा वा तारेभीरतर्फ जाने फराकिलो बाटोको देब्रेतर्फ केही उकालोमा रहेको वाग्द्वार जाने सिँढी भेटियो। साथीहरू त्यहाँ हामीभन्दा अगाडि नै पुगिसक्नुभएको होला भन्ने लागेको थियो, तर वरिपरि हेर्दा उहाँहरू कतै देखिनुभएन।

वाग्द्वारतर्फ मोडिएका आठ-दसवटा सिँढी उक्लिएपछि आउने विश्रामस्थलमा पुगेर पानी पियौँ र केही बेर सुस्तायौँ। त्यही क्रममा मोबाइलको संकेत अलिअलि देखिन थालेपछि मैले हामी हेलिप्याडमा आइपुगेको भनी मोबाइलमा सन्देश पठाएँ। केही बेरमा आएको सन्देशबाट थाहा भयो कि साथीहरू त निकुञ्जको प्रवेशद्वारबाट फराकिलो बाटो पछ्याउँदै करिब चालीस-पैँतालीस मिनेटमा पुगिने एउटा दोबाटोमा हामीलाई केही बेर कुरेर, हामी नपुगेपछि विष्णुद्वार जाने बाटो समात्नुभएको रहेछ।

जुन बाटो गए पनि अन्ततः हाम्रो समूहको उद्देश्य शिवपुरी पुग्नु भएकाले त्यहीँ भेटिहालिन्छ भनेर हामी दुई जना वाग्द्वारतर्फ उकालो लाग्यौँ। समयको हिसाबले शिवपुरी पुग्ने सबैभन्दा छोटो मार्ग यही थियो। यसअघि पनि हिँडिसकेको अनुभवका आधारमा यहाँबाट करिब तीनदेखि चार घण्टाभित्र आरामसँग शिवपुरी चुचुरो पुग्न सकिन्थ्यो। उक्त कुरा माथि उल्लिखित दोबाटोमा राखिएको सूचनापाटीमा पनि उल्लेख गरिएको छ।

यो मार्गमा म तेस्रो पटक उक्लँदै थिएँ। सायद बर्खायाम भएकाले होला, बाटोमा फाट्टफुट्ट मात्र अन्य पदयात्री भेटिए। ढुङ्गाका सिँढीहरू ठाउँठाउँमा बिग्रिएका थिए भने कतिपयमा लेउ जमेको थियो। तर त्यसबेला माथिको आकाश सफा थियो र झलमल्ल घाम लागेको थियो। बाक्लो जङ्गलको बीचमा उकालो चढ्दै गर्दा बिहानको शान्त वातावरण, किराहरूको एकोहोरो ट्याइँट्याइँ र चराहरूको चिरबिरले यात्रालाई मनमोहक बनाइरहेको थियो।

सानो देउराली पुग्नुअघि पूर्वतर्फबाट बगेर आएको झाँक्रीखोला गडगडाउँदै मुहानपोखरीतिर झरिरहेको थियो। पटकपटक हिँडिसकेको ठाउँ भए पनि प्रत्येक पटक केही न केही नयाँपन अनुभव हुन्थ्यो। मार्गको आसपास कतै रूख ढलेका थिए, कतै हाँगाबिँगा लत्रिएका थिए र कतै विभिन्न प्रजातिका ससाना वनस्पति र बुट्यानहरू झाँगिएका थिए। रूखका हाँगा र काण्डमा सुनाखरी फैलिएको दृश्यले पनि मन आकर्षित गरिरहेको थियो। विशेषगरी बाटोको दाहिनेतर्फ उम्रिएका केही बुट्यानमा माकुराले बनाएका आकर्षक गोलाकार जालाहरू देखिन्थे। रूखका पात छिचोल्दै आएको घामको किरण ती जालामा पर्दा तिनको सौन्दर्य झनै खुल्थ्यो। प्रकृतिले चुपचाप सिर्जना गरेका यस्ता दृश्य नियाल्दै अघि बढ्दा थकानका बीच पनि मन पुलकित हुन्थ्यो।

करिब नौ बजेर पच्चीस मिनेटमा हामी रमणीय सानो देउराली पुग्यौँ। त्यहाँ पुगेपछि एक प्रकारको सन्तोष मिल्यो। हेलिप्याडदेखि सानो देउरालीसम्मको बाटो केही उकालो र ठाडा ढुंगाका सिँढीले भरिएको हुँदा छिटो हिँड्न अलि कठिन हुन्छ। त्यसैले देउराली पुग्दा केही कठिन चरण पार गरेको अनुभूति हुनु स्वाभाविकै थियो। अब छिट्टै वाग्द्वार पुगिन्छ र त्यहाँबाट पनि केही बेरमै शिवपुरी चुचुरो पुग्न सकिन्छ भन्ने आशाले यात्रालाई सहज बनाइरहेको थियो।

गन्तव्य नजिकिँदै गएको अनुभूतिले थकित पाइला अघि बढाउन थप ऊर्जा दिँदोरहेछ। त्यहाँबाट अगाडि बढ्दा मार्गको दायाँबायाँ केही भागको भुइँ भर्खरै कुनै जनावरले खोस्रेको जस्तो थियो। प्रायः जंगलमा पाइने बँदेलहरूले आफ्नो आहारा खोज्न यसरी भुइँ खोस्रने गर्छन्। लगभग दस-पन्ध्र मिनेट हिँडेपछि एउटा खोल्सा तर्‍यौँ। त्यसपछि कान्लाजस्तो उकालो पार गर्दै एउटा फराकिलो चौरमा पुग्यौँ। हरियो घाँसले ढपक्क ढाकेको चौर, पारिलो घाम, माथि फैलिएको नीलो आकाश, वरिपरिका आकर्षक रूख तथा बुट्यान र रंगीबिरंगी पुतलीहरू यताउता नाचिरहेको त्यो ठाउँ निकै मनमोहक थियो। त्यहाँ केही बेर लम्पसार परेर सुस्ताउँदा शरीरको थकान हराएजस्तो लाग्यो।

प्रकृतिको काखमा केही क्षण बिताउँदा यात्रामा लागेको थकान मात्र होइन, मनमा रहेका अनेकौँ बोझसमेत हलुका भएजस्तो अनुभूति हुँदोरहेछ।

करिब सवा दस बजे हामी तीर्थस्थलका रूपमा समेत प्रसिद्ध वाग्द्वार पुग्यौँ। यो काठमाडौँ उपत्यकाको प्रमुख नदी वाग्मतीको मुहान क्षेत्र हो। पश्चिमोत्तर दिशामा रहेको भिरको तल्लो भागमा ढुङ्गाको कापबाट विभिन्न कुनाकाप्चा हुँदै निस्किएका ससाना पानीका धारा एकीकृत भएर बगिरहेका थिए। ढुंगाकै डुँडबाट सुनौलो रङ पोतिएको बाघको मुखाकृति भएको धारो तथा त्यसको दायाँबायाँ रहेका अन्य दुई ढुङ्गेधाराबाट पानी झरिरहेको थियो। त्यस स्थानबाट माथिल्लो भेगतर्फ जाने सिँढीको छेउछाउका झाडी र बुट्यानभित्रबाट खहरेको पानीसमेत तलतिर बगिरहेको देखिन्थ्यो।

यही क्षेत्र वाग्मती नदीको उद्गमस्थलका रूपमा परिचित छ। ढुंगेधारो वरिपरि रहेका देवताका ससाना शिला, धारोको ठीक अगाडि आधुनिक शैलीमा निर्माण गरिएको चारकुने पोखरी र त्यसको बीचमा स्थापित महादेवको मूर्तिले यस स्थानको धार्मिक महत्त्व झल्काउँछन्।

प्रत्येक वर्ष वैशाख एक गते नयाँ वर्षको सुरुवातका दिन यहाँ ठूलो मेला लाग्ने गर्छ।

बाघको मुखाकृति भएको ढुङ्गेधाराबाट झरेको पानीले मुख धोयौँ। त्यस पवित्र स्थलमा केही बेर घुमफिर गर्‍यौँ र केही तस्बिर खिचेपछि आश्रमतर्फ उक्लियौँ। आश्रमका बाबा केही दिनअघि कामविशेषले बाहिर जानुभएको र सोही दिन फर्कने क्रममा रहनुभएको कुरा उहाँका अनुयायी जिग्मेजीबाट थाहा भयो। त्यस आश्रममा प्रायः चिया उपलब्ध हुने गर्छ भने विशेष अवसरमा भण्डाराका रूपमा खाना तथा खाजाको व्यवस्था पनि हुने गर्छ।

जिग्मेजीले आश्रम वरिपरिको वातावरण, आश्रम तथा शिवपुरीमा बसेर साधना गर्दाका अनुभव र घरगृहस्थीलगायतका विषयमा आफ्ना रोचक अनुभूतिहरू सुनाउनुभयो। उहाँका कुरा सुन्दै उहाँले उपलब्ध गराउनुभएको मिठो चियाको चुस्की लिँदै केही बेर विश्राम गर्‍यौँ।

चियाले शरीरको थकान कम गर्‍यो भने आत्मीय कुराकानीले यात्रामा थप आनन्द भरिदियो। केही बेरपछि हामी पुनः शिवपुरी चुचुरोतर्फ अघि बढ्यौँ।

चुचुरो उक्लने मार्गको यो भाग केही ठाडो छ। अघिल्ला दिनहरूमा पानी परिरहेको हुँदा प्राकृतिक रूपमा बनेका सिँढीमा भिजेको माटो जमेको थियो। त्यसैले कतैकतै उकालो चढ्न कठिनाइ भयो। बाटो चिप्लो भएकाले पाइला सम्हाल्दै अघि बढ्नुपर्थ्यो। प्रकृतिको रमणीयतामा रमाउँदै हिँड्नु र कठिन उकालो पार गर्नु पदयात्राका दुई भिन्न तर अभिन्न अनुभूति हुन्।

उकालोको लगभग आधा भाग पार गरेपछि चुचुरोतर्फबाट ओर्लिरहेका केही यात्रुको आवाज सुनिन थाल्यो। बाटो अलि घुमाउरो थियो र लहरा तथा पातले गर्दा अगाडिको दृश्य स्पष्ट देख्न सकिँदैनथ्यो। तर सुनिँदै गरेको आवाज कताकता परिचित लागिरहेको थियो। नजिकिँदै जाँदा त ती हाम्रै साथीहरू पो रहेछन्। चुचुरोमा भेट्ने योजना बनाएका साथीहरूसँग बाटैमा भेट भयो। अब को कता फर्किने भन्ने प्रश्न उठ्यो। हामीलाई चुचुरो पुग्नु थियो भने उहाँहरूलाई वाग्द्वार जाने इच्छा थियो।

‘आश्रममा चिया पाइयो भने खाएर बस्छौँ, तपाईंहरू चुचुरो पुगेर फर्कनुहोस् न त,’ भन्ने प्रस्ताव आयो। अर्का साथीले भने, ‘हैन, फर्कौँ न त चुचुरोतिर।’ केही बेर दुवै पक्षका कुरा सुनिए। अन्ततः सबैको सामूहिक तस्बिर खिच्ने निधो भयो। उकालो चढिरहेका दुई जना यात्रुमध्ये एक जनालाई हामी सबैको तस्बिर खिचिदिन अनुरोध गरियो। त्यसपछि साथीहरूले सिक्रेबाट उक्लने बाटोको कुरा निकाल्दै एउटा रोचक प्रसंग सुनाउनुभयो। उहाँहरूमध्ये एकजनाले भन्नुभयो, ‘हुन्न, हुन्न, त्यता नजानुहोस्। उक्लिने बेलामा एउटा ढेडु बाँदरले हाम्रो सातो लिएको छ। त्यो बाँदर त्यही बाटोमा बसिरहन्छ। तपाईंहरू दुईजना मात्र हुनुहुन्छ, फेरि त्यसले दुःख देला नि! नजानुहोस्, यतै फर्कनुहोस्।’

बाँदरसँग भएको जम्काभेटले उत्पन्न गरेको परिस्थितिमा साथीहरूले भोग्नुभएको अनुभव र बाँदरका चर्तिकलाका कुराले केही बेर रमाइलो हाँसो पनि चल्यो। पदयात्राका यस्ता अप्रत्याशित घटना नै पछि सम्झँदा रमाइला संस्मरण बन्दारहेछन्। केही बेरको हाँसोठट्टापछि हामीले बाँदर एउटै ठाउँमा सधैँ बसिरहँदैन भन्ने ठानेर साथीहरूसँग बिदा लियौँ र पुनः चुचुरोतर्फ उकालो लाग्यौँ।

रूखपात, झाडी र बुट्यानले चारैतिरबाट घेरेको पहाडको चुचुरोमा एउटा समथर, हरियो चौर छ। त्यसको पूर्वतर्फको कुनामा नीलो रङको फलामे संरचनाले सुरक्षित रूपमा घेरेर राखिएको सेतो स्फटिकमा कुँदिएको शिवपुरी बाबाको जीवन्त मूर्ति देखिन्छ।

घण्टौँसम्म हस्याङफस्याङ गर्दै, स्याँस्याँ र फ्याँफ्याँ गर्दै पसिनाले भिजेको शरीर लिएर उकालो चढ्दाको सम्पूर्ण थकान त्यस मूर्तिको दर्शन र चुचुरोको वातावरणले क्षणभरमै हराइदिन्छ। मनमा नयाँ उत्साह र शरीरमा नयाँ स्फूर्ति सञ्चार हुन्छ। पदयात्रामा गन्तव्यमा पुग्दाको आनन्द केवल त्यहाँ पुग्नुमा मात्र सीमित हुँदैन। त्यसका लागि पार गर्नुपरेका कठिन बाटा, शरीरले भोगेको थकान, बाटोमा भेटिएका दृश्य र मानिसहरूसँग साटिएका आत्मीय क्षणहरू पनि त्यस आनन्दका अभिन्न अंश हुन्। शिवपुरीको चुचुरोमा पुग्दा यिनै अनुभूतिहरू एकसाथ मनमा उर्लिएर आउँछन्।

मुहानपोखरीको दोबाटोबाट दाहिनेतर्फ लागेर हेलिप्याड हुँदै वाग्द्वार पुगेर शिवपुरी जाने एउटा मार्ग छ। हेलिप्याडसम्म जाने तर त्यतातर्फ नउक्लिई फराकिलो बाटो हुँदै पूर्वतर्फ नागी गुम्बा पुग्ने र त्यहाँबाट उत्तरतर्फका सिँढी चढ्दै सानो देउराली हुँदै वाग्द्वार पुगेर शिवपुरी जाने अर्को मार्ग छ। मुहानपोखरीको दोबाटोबाट डाँडागाउँ जाने बाटोतर्फ लागेर सिक्रे हुँदै सिधै उत्तरपूर्वतर्फ उकालो चढ्दै शिवपुरी जाने तेस्रो मार्ग हो।

डाँडागाउँ जाने बाटोतर्फ नै लागेर सिक्रेबाट केही अगाडि पूर्वतर्फ विष्णुद्वार उक्लँदै विष्णुमती खोला तरेर सिक्रेबाट उकालो चढ्दै आएको बाटोमा जोडिएर शिवपुरी जाने चौथो मार्ग छ। टोखामाथि रहेको गुर्जेभञ्ज्याङबाट पूर्वतर्फ लागी बीचमा रहेको ठाडो सिँढी हुँदै सिक्रेबाट आएको बाटो भेटेर शिवपुरी जाने पाँचौँ मार्ग हो। त्यसैगरी सुन्दरीजलबाट मूलखर्क, ओख्रेनी, वाग्द्वार हुँदै शिवपुरी जाने छैटौँ मार्ग छ। यसरी विभिन्न मार्गबाट शिवपुरी चुचुरो पुग्न सकिने भएकाले पदयात्राप्रेमीहरूले आफ्नो समय, शारीरिक क्षमता र रुचिअनुसार उपयुक्त मार्ग रोज्न सक्छन्।

‘शिवपुरीको शिखरबाट स्वच्छ प्रभातमा सूर्यको पहिलो किरणले सगरमाथालाई अंकमाल गर्दाको शोभा परमात्माको दर्शन गरेजस्तै’ भन्ने आशयको श्रद्धेय विष्णुप्रसाद तिमिल्सिनाज्यूले प्रकाशित गर्नुभएको कृति ‘स्वधर्म’ (श्री शिवपुरी बाबाका उपदेशहरूबाट केही थोपा, परिमार्जित चौथो संस्करण) मा उल्लेख गरिएको शिवपुरी बाबाको अमूल्य वाणीले प्राकृतिक सौन्दर्य, जैविक विविधतायुक्त प्राकृतिक सम्पदा, धार्मिक आस्था र आध्यात्मिक साधनाको संगमका रूपमा शिवपुरीको विशिष्ट महत्त्व उजागर गरेको छ।

प्रकृतिको शान्त वातावरणमा रमाउँदै तनलाई ऊर्जाशील र मनलाई शान्त तुल्याउन सहजै पुग्न सकिने शिवपुरी काठमाडौं उपत्यकाको महत्त्वपूर्ण जलाधार क्षेत्रसमेत हो। शिवपुरीको महत्त्व उजागर गर्दा काठमाडौं उपत्यकाका वरिपरि रहेका फूल्चोकी, चन्द्रागिरिलगायत अन्य पदयात्रा गन्तव्यहरूको महत्त्वमा कुनै कमी आउँछ भन्ने लाग्दैन। बरु, यी सबै गन्तव्यले उपत्यकाको प्राकृतिक, सांस्कृतिक र आध्यात्मिक वैभवलाई आआफ्नै ढंगले समृद्ध बनाएका छन्।

हेलिप्याडतिरबाट उक्लने डा. उमेश खनाल र म (अमृतप्रसाद पौडेल) तथा सिक्रेबाट उक्लने डा. प्रेम बसेल, डा. गोपाल सेढाईँ र उहाँको आठ वर्षीय छोरो हृदय सेढाईँ तथा कालिप्रसाद रोयसाराले त्यस दिन शिवपुरीलाई भिन्नभिन्न मार्गबाट अनुभव मात्र गरेनौँ, अपितु तीन कक्षामा पढ्ने आठ वर्षीय बालक हृदयको हिँडाइप्रतिको लगाव, फुर्तिलोपन र प्रसन्नताले यात्रालाई अविस्मरणीयसमेत बनायो।

प्रकाशित: ७ कार्तिक २०८३ ११:५८ | Saturday, October 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast