इजरायल चुनाव : नेतान्याहु र इसेनकोटबीच प्रतिस्पर्धा

हिमाल प्रेस ५ कार्तिक २०८३ १६:२१ | Thursday, October 22, 2026
10
SHARES
इजरायल चुनाव : नेतान्याहु र इसेनकोटबीच प्रतिस्पर्धा तस्बिर : एफपी

काठमाडौँ- गाजामा युद्ध सुरु भएको तीन वर्षपछि इजरायलमा आगामी मंगलबार हुने निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका प्रतिस्पर्धीबीच सत्ता नियन्त्रणका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ।

जनमत सर्वेक्षणले नेतान्याहुको लिकुड पार्टी र गदी इसेनकोट नेतृत्वको मध्यमार्गी याशर पार्टीबीच प्रतिस्पर्धा देखाएका छन्।

इजरायलको १२० सदस्यीय संसद् नेसेटमा सरकार गठनका लागि कम्तीमा ६१ सिटको समर्थन आवश्यक पर्ने भएकाले निर्वाचनपछि दलहरूबीच गठबन्धन निर्माण निर्णायक हुनेछ।

सतहत्तर वर्षीय नेतान्याहु इजरायलको सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका नेता हुन्।

समर्थकहरूले उनको सुरक्षा र आर्थिक अनुभव तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको निकट सम्बन्धलाई महत्त्व दिन्छन्।

तर, विरोधीहरूले सन् २०२३ अक्टोबर ७ को हमास आक्रमणअघि सुरक्षा कमजोरी हुन दिएको र त्यसपछिको युद्ध व्यवस्थापनमा असफल भएको आरोप लगाउँछन्। उनले युद्ध अपराध, मानवताविरुद्धका अपराध तथा ठगी र घुससम्बन्धी आरोप अस्वीकार गर्दै आएका छन्।

६६ वर्षीय पूर्वसैनिक प्रमुख गदी इसेनकोट मध्यमार्गी विकल्पका रूपमा प्रस्तुत भएका छन्। गाजाको युद्धमा उनका छोरा र दुई भतिजाको मृत्यु भएको थियो।

नेतान्याहुको युद्ध मन्त्रिपरिषद्मा काम गरेका उनले स्पष्ट रणनीति नभएको भन्दै आठ महिनापछि राजीनामा दिएका थिए। सुरक्षा नीतिमा भने उनी कडा मानिन्छन्।

पूर्वप्रधानमन्त्री नाफ्ताली बेनेट मध्यमार्गी नेता यायर लापिडसँग चुनावी गठबन्धनमा छन्। उनी प्यालेस्टिनी स्वतन्त्रताको विरोध र पश्चिमी किनारमा यहुदी बस्ती विस्तारको समर्थन गर्छन्।

सन् २०२१ मा उनले वामपन्थी तथा अरब दलको समर्थनमा गठबन्धन सरकारको नेतृत्व गर्दै प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन–गभिर अति दक्षिणपन्थी नेता हुन्। उनी प्यालेस्टिनीहरूलाई गाजाबाट अन्यत्र बसाइँसराइ गराउने र त्यहाँ यहुदी बस्ती पुनःस्थापना गर्ने प्रस्तावका कारण विवादमा छन्। उनको पार्टीले अघिल्लो निर्वाचनमा राम्रो प्रदर्शन गरेपछि नेतान्याहुको गठबन्धनमा दक्षिणपन्थी प्रभाव बढेको थियो।

यसैगरी, ५२ वर्षीय मन्सुर अब्बास अरब नेतृत्वको राम पार्टीका नेता हुन्। उनले अरब समुदायमा अपराध नियन्त्रणजस्ता स्थानीय मुद्दालाई प्राथमिकता दिँदै आएका छन्।

सन् २०२१ मा उनको पार्टी इजरायली सरकारमा सहभागी हुने पहिलो अरब नेतृत्वको दल बनेको थियो।

प्रकाशित: ५ कार्तिक २०८३ १६:२१ | Thursday, October 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast