काठमाडौँ- बलिउडका अभिनेता टाइगर श्राफमाथि गोली प्रहार गर्ने तीन सुटरलाई प्रहरीले पक्राउ गरेको छ।
राजस्थान एजीटीएफ र कोटा सिटी प्रहरीको संयुक्त टोलीले मुम्बई प्रहरीको गोप्य सूचनाका आधारमा उनीहरूलाई पुणे–जयपुर एक्सप्रेसबाट नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा बिहार राज्यको बेगुसराय घरभई मुम्बईमा बस्दै आएका २२ वर्षीय ऋतिक कुमार, हरियाणाका १८ वर्षीय रेहान र एक जना नाबालक रहेका छन्। अनुसन्धानबाट उनीहरू घटनापछि नेपाल भाग्ने योजनामा रहेको खुलेको छ।
अभिनेता श्राफमाथि आइतबार साँझ मुम्बईको एक फुटबल मैदानबाहिर गोली प्रहार भएको थियो। कारमा बसिरहेका बेला उनलाई लक्षित गरेर गोली प्रहार भएको थियो। श्राफ सुरक्षित रहे पनि उनको कारका चालकलाई एक गोली लागेको छ। त्यस्तै एक जना प्रशंसकको पेटमा गोली लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। श्राफलाई कारका सीसाले चोट लागेको बताइएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार अभियुक्तहरुले गोली प्रहार गर्नुअघि श्राफमको घर र जिमको करिब १० दिनसम्म निगरानी गरेका थिए। उनीहरूले सामाजिक सञ्जालमा ‘प्यापराजी’का भिडियो तथा ब्लगहरूको सहयाताले उनको दैनिक तालिका र आवतजावतका स्थानहरूमाथि लगातार निगरानी राखेका थिए।
अपराधका क्रममा आरोपीहरू ह्वाट्सएप र सिग्नलजस्ता इन्क्रिप्टेड एपमार्फत घटनाका योजनाकारहरूको निरन्तर सम्पर्कमा थिए। उनीहरूलाई ती एप्सबाटै लोकेशन पठाइएको थियो। यो आक्रमणको जिम्मा कुख्यात लरेन्स बिश्नोई ग्यांगले लिएको छ।
कसरी भएको थियो घटना?
आइतबार साँझ श्राफ फुटबल मैदानबाट आफ्नै कारमा घर फर्कँदै गर्दा मोटरसाइकलमा सबार तीन जना आक्रमणकारीले उनको कारलाई घेरा हालेका थिए।
उनीहरूले कारको विन्डशिल्ड र छेउका सिसालाई लक्षित गर्दै सात राउन्ड गोली प्रहार गरेका थिए। त्यसमध्ये पाँचवटा गोली कारमा लागेको थियो भने दुईवटा निशाना चेकेका थिए।
पाँचौँ गोली प्रहार गरेपछि एक आक्रमणकारी कारनजिकै पुगेर श्राफमाथि गोली चलाउने प्रयास गरेको थियो। तर, त्यो सयममा उसको पेस्तोल जाम हुँदा श्राफ जोगिएका थिए।
फिल्मी शैलीको फरार प्रयास र पक्राउ
आक्रमणपछि आरोपीहरू पूर्वयोजनाअनुसार एसभी रोड हुँदै विले पार्ले र अन्धेरीतिर भागेका थिए। उनीहरूले अन्धेरी वेस्ट रेल्वे स्टेशननजिकै मोटरसाइकल छाडेर बोरीवली जाने लोकल ट्रेन समातेका थिए।
त्यहाँबाट जयपुर पुगेका उनीहरू बसमार्फत दिल्ली र दिल्लीबाट नेपाल भाग्ने योजनामा थिए। तर, प्राप्त सूचनाको आधारमा सुरक्षा निकायले उनीहरूलाई राजस्थानको कोटाबाटै पक्राउ गर्न सफल भयो।
प्रहरीले पक्राउ परेका सुटरहरूसँग थप अनुसन्धान गरिहेको छ।




