फाइल तस्बिर
काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको सहयोग साउदी अरबले स्वीकार गर्नुपर्ने बताएका छन्।
उनले साउदी अरब इजरायलसँग सम्बन्ध सामान्य बनाउने अब्राहम सम्झौतामा सहभागी हुने सम्भावना पनि बढेको उल्लेख गरेका छन्।
सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमण हुनुअघि इजरायल र साउदी अरब सम्बन्ध सामान्य बनाउने सम्झौताको नजिक पुगेका थिए। तर साउदी अरेबियाले प्यालेस्टिनी राज्य स्थापनाको स्पष्ट मार्ग सुनिश्चित हुनुपर्ने अडान राख्दै आएको छ।
यसैबीच, इरानले हुथीका आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै द्वन्द्व अन्त्य गर्न मध्यस्थता गर्न तयार रहेको जनाएको छ।
यमनको सरकारले हुथीले एडन विमानस्थलमा दुईवटा क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाएको छ। ती क्षेप्यास्त्र कायरो उड्न तयारी अवस्थामा रहेको विमाननजिक खसेका थिए।
साउदी अरबस्थित अमेरिकी दूतावासले पनि सम्भावित आक्रमण र उडान अवरोधबारे आफ्ना नागरिकलाई सचेत गराएको छ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले पछिल्लो २४ घण्टामा साउदी लडाकू विमानले यमनका विभिन्न क्षेत्रमा १०१ वटा हवाई तथा क्षेप्यास्त्र आक्रमण गरेको र हालसम्म यस्ता आक्रमणको संख्या दुई हजार ४८९ पुगेको दाबी गरेका छन्।
अर्कोतर्फ, साउदी नेतृत्वको सैन्य गठबन्धनले यानबुतर्फ प्रहार गरिएको एक ब्यालिस्टिक क्षेप्यास्त्र, लाल सागरमा दुईवटा क्रुज क्षेप्यास्त्र र तीनवटा ड्रोन नष्ट गरेको जनाएको छ।
हुथीका आक्रमण र त्यसको जवाफी कारबाही बढिरहेका बेला साउदी अरेबियाको ऊर्जा पूर्वाधार तथा महत्त्वपूर्ण समुद्री मार्गको सुरक्षालाई लिएर चिन्ता बढेको छ।




