काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले दसैँलाई सत्यको विजय र असत्यमाथि न्यायको जितका रूपमा आत्मसात् गर्दै आफूभित्रका नकारात्मक प्रवृत्तिमाथि विजय प्राप्त गर्न सबैलाई आह्वान गरेका छन्। उनले काम, क्रोध, लोभ, ईर्ष्या र अहङ्कारमाथि विजय प्राप्त गर्न सके मात्रै मानव जीवन सुखी बन्ने बताएका छन्।
बडादसैँका अवसरमा सामाजिक सञ्जाल फेसबुकमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले सामाजिक रूपमा आसुरी प्रवृत्तिको पराजय होस् र प्रत्येक व्यक्तिले आफूभित्रको महिषासुर र रावणलाई चिन्न तथा तिनमाथि विजय प्राप्त गर्न सकून् भन्ने शुभकामना व्यक्त गरेका छन्।
उनले दसैँले विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्न र हरेक घरमा उत्सव तथा उमंग ल्याउन सकोस् भन्ने कामना गरेका छन्। धार्मिक, सामाजिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण दसैँ नेपाली समाजमा एकता, आत्मीयता र पारिवारिक मिलनको पर्वका रूपमा स्थापित रहेको उनको भनाइ छ।
प्रधानमन्त्री शाहले विभिन्न विषम परिस्थिति र सङ्कटबीच पनि नेपालीले आफ्ना धार्मिक, सांस्कृतिक तथा सामाजिक मूल्यमान्यता र मौलिकताको जगेर्ना गर्दै चाडपर्व मनाउँदै आएको स्मरण गरेका छन्।
यस वर्ष रसुवा, नुवाकोट र गोरखालगायतका ठाउँमा भएका विनाशकारी घटनाको शोक ताजै रहेका बेला दसैँ आएको उल्लेख गर्दै उनले विपत्तिमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै विस्थापित नागरिकको पुनःस्थापनाका लागि सरकारले काम गरिरहेको बताएका छन्।
प्रधानमन्त्री शाहले चाडपर्वमा परिवार र आफन्तसँग भेटघाट गर्ने चाहना हुँदाहुँदै पनि विदेशमा रहेका कारण घर फर्कन नपाउने लाखौँ नेपालीको अवस्थाप्रति पनि चिन्ता व्यक्त गरेका छन्। बाध्यताले विदेशिनुपर्ने र चाडपर्वमा समेत परिवारसँग मिलन हुन नसक्ने नेपालीको नियति बदल्न सबैको सामूहिक प्रयास आवश्यक रहेको उनको भनाइ छ।
देशको समृद्धि र नागरिकको सुखद जीविकाका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले आर्थिक अभावका कारण दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने बताएका छन्। आर्थिक सम्पन्नता बढाउँदै देशलाई सुशासनको मार्गमा अघि बढाउन सरकार अहोरात्र खटिरहेको उनको दाबी छ।
दसैँको रौनक आर्थिक सम्पन्नतासँग पनि जोडिएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले नागरिकको आर्थिक अवस्था सुधार्नुपर्नेमा जोड दिएका छन्। उनले माता दुर्गाभवानीको कृपा सबैमा रहोस् भन्दै नेपालीहरूमा आरोग्य, सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।
उनले सबैलाई सभ्य र भव्य रूपमा दसैँ मनाउन आग्रह गर्दै माता दुर्गाभवानीले सबैको रक्षा गरून् र सबैको जय होस् भन्ने शुभकामना व्यक्त गरेका छन्।




