राज्यका सूचना चुहाउनेले उन्मिुक्ति दिइँदैन : गृहमन्त्री

हिमाल प्रेस ३० असोज २०८३ १३:३४ | Friday, October 16, 2026
6
SHARES
राज्यका सूचना चुहाउनेले उन्मिुक्ति दिइँदैन : गृहमन्त्री

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने बताएका छन्।

७१ औँ प्रहरी दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने बताउँदै सूचनाको संरक्षण र गोपनीयता कायम राख्न जिम्मेवार बन्न निर्देशन दिए।

नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनमा सुधारको तयारी भइरहेको समेत उनले बताए। उनले प्रहरीलाई उत्प्रेरित गर्ने गरी कानुनमार्फत सेवासुविधा थप गर्न वर्तमान सरकारले पहल गरिरहेको उल्लेख गरे।

उनले अपराधले सीमा नचिन्ने उल्लेख गर्दै अन्तरदेशीय अपराध नियन्त्रण तथा अनुसन्धान गर्न सक्षम निकायका रूपमा नेपाल प्रहरी स्थापित हुन जरुरी रहेको उल्लेख गरे।

गृहमन्त्री गुरुङले प्रहरीको बर्दी डर र त्रासको नभई आशा, भरोसा र नागरिक–प्रहरी सहकार्यको प्रतीक बनाउन आग्रह गरे।

विपद् उद्धारमा खटिएका सुरक्षाकर्मीलाई जोखिम भत्ता तथा खाजा खर्चको प्रबन्ध भइसकेको तथा हालै नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षणमार्फत दरबन्दी थप गर्न प्रस्ताव गरिएको उनले जानकारी दिए।

गृहमन्त्री गुरुङले नयाँ सरकार नयाँ जोश, जाँगर र मानसिकताका साथ जनताको सेवामा जुटेको बताए।

उनले प्रहरीलाई आफ्नो आचरण र कार्यशैली नागरिकमैत्री बनाउन तथा अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन निर्देशन दिए। त्यस अवसरमा गृहमन्त्री गुरुङलगायतले कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका सम्पूर्ण अमर प्रहरीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका थिए।

प्रकाशित: ३० असोज २०८३ १३:३४ | Friday, October 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast