सामुदायिक विद्यालय सुधार गर्न सरकारको यस्तो योजना

हिमाल प्रेस २८ असोज २०८३ ११:०६ | Wednesday, October 14, 2026
162
SHARES
सामुदायिक विद्यालय सुधार गर्न सरकारको यस्तो योजना शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल

काठमाडौँ- सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण थप बढाउने उद्देश्यले पूर्वाधार विकासको योजना अघि बढाएको छ।

उत्कृष्ट नतिजा हासिल गर्दै दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा ठूला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको हो।

शिक्षा क्षेत्रको रूपान्तरणका लागि यो एक ऐतिहासिक कदम भएको बताउँदै यसै चालु आर्थिक वर्षमा ती विद्यालयको संरचना सुदृढीकरणका लागि कूल ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनाएका हुन्।

मन्त्री पोखरेलका अनुसार यस योजनाअन्तर्गत पहिलो चरणमा ८९ वटा विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको हो। निकासा भएको रकममार्फत अहिले विद्यालयमा अत्याधुनिक १२ कोठे तीन तले भवन निर्माणको काम तीव्र गतिमा अघि बढाइने भएको छ।

प्रतिविद्यालय करिब ६ करोड रुपैयाँको लागतमा बन्ने यी भवनहरूमा आधुनिक कक्षाकोठा, व्यवस्थित प्रयोगशाला र समृद्ध पुस्तकालयको समेत व्यवस्था हुनेछ। यसले विद्यार्थीको सिकाइ वातावरणलाई अझ सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउने मन्त्री पोखरेलले बताएका छन्।

‘कतिपय सामुदायिक विद्यालयमा विद्यार्थीको उच्च चाप हुनु खुसीको विषय हो भने केही विद्यालय विद्यार्थी अभावबाट गुज्रिरहेको यथार्थप्रति हामी उत्तिकै सचेत छौँ। विद्यालयबीचको यो असमानतालाई चिर्न हामीले अहिले ठूला विद्यालयबाट पूर्वाधार सुधार सुरु गरेका हौँ,’उनले भने,‘आगामी दिनमा देशका सम्पूर्ण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार समान रूपमा सुदृढ बनाउँदै यो असमानता सधैँका लागि अन्त्य गर्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु।’

प्रकाशित: २८ असोज २०८३ ११:०६ | Wednesday, October 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast