काठमाडौँ- सरकारले निजी क्षेत्रका उद्योग, व्यवसाय तथा संस्थागत विद्यालयहरूमा कार्यरत श्रमिक, शिक्षक र कर्मचारीहरूलाई चाडपर्व खर्च उपलब्ध गराउन निर्देशन दिएको छ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले निजी क्षेत्र र निजी विद्यालयका छाता संगठनहरूलाई पत्र पठाउँदै कानुनबमोजिमको चाडपर्व खर्च उपलब्ध गराउन ताकेता गरेको हो।
श्रम ऐन, २०७४ को दफा ३७ मा प्रत्येक श्रमिकले वर्षमा एकपटक आफूले खाईपाई आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउने कानुनी व्यवस्था छ।
सोही व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि विभागले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सलाई पत्राचार गरेको छ।
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको चाडपर्व खर्च सुनिश्चित गर्न विभागले प्याब्सन र एन-प्याब्सनलाई समेत छुट्टै पत्र पठाएको छ।
चाडपर्वमा पनि धेरैजसो रोजगारदाताले श्रमिकलाई तोकिएको सेवासुविधा दिन आलटाल गरिरहेको गुनासो आएपछि विभागले यस्तो कदम चालेको हो।
कानुनले तोकेको सुविधा उपलब्ध नगराए सम्बन्धित रोजगारदाताविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाउने चेतावनीसमेत विभागले दिएको छ।




