काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीहरू र महिला केन्द्रीय सदस्य खुलाको मतगणना थालिएको छ।
आइतबार साँझदेखि सहमहामन्त्रीहरू खुला, सहमहामन्त्री (महिला) र केन्द्रीय सदस्य (महिला) को गणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको निर्वाचन समितिले जानकारी दिएको छ। विभिन्न ६ ठाउँमा उक्त गणना भइरहेको हो।
सहमहामन्त्री खुलामा ९ जना चुनावी मैदानमा छन्। जसमा दुई जना निर्वाचित हुन्छन्। उम्मेदवारहरूमा अजयबाबु शिवाकोटी, अमृतकुमार अर्याल, देवेन्द्रराज कणेल, डिल्लीराम सुवेदी, विकास कोइराला, विमलराज क्षेत्री, रमेशप्रसाद धमला, रामहरि खतिवडा र राजीव ढुंगाना रहेका छन्।
एक जना महिला सहमहामन्त्रीका लागि नानुमैया बास्तोला र प्रतिमा गौतम प्रतिस्पर्धी रहेका छन्।
केन्द्रीय सदस्य महिला खुलामा १५ जनाका लागि ३६ जना प्रतिस्पर्धामा छन्। जसमा अकला गुरुङ, अनिता देवकोटा, इन्दिरा चौलागाई, उमा दाहाल, उर्मिला थपलिया, कल्पना तिवारी, कान्तिका सेजुवाल, कुसुमदेवी थापा, गंगा दाहाल, गंगा शाही, गण्डकी थापा अधिकारी, गीता सत्याल, चिनी पोखरेल (चिनु), जमुना ढकाल, तुलसी देवकोटा, धनाकुमारी खतिवडा, नम्रता बराल, निमा गिरी, निर्मला क्षेत्री प्रतिस्पर्धी छन्।
त्यस्तै निर्मला तामाङ बस्नेत (नीरू), पवित्राकुमारी अर्याल, भगवती काफ्ले भण्डारी, भवानी देवकोटा, विनिता खड्का, विष्णुकुमारी सापकोटा, वासना थापा, मुना भुसाल, मोदती केसी, यस्मिन ढुंगाना, राधिका कटुवाल, रीता थापामगर, रीता सेन ओली, लक्ष्मी पाण्डे र सम्झना खत्री, सुमित्राकुमारी बम र सृजना अधिकारी रहेका छन्।
मधेश प्रदेशको मतपेटिका हराएको समाचार भ्रमपूर्ण
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मधेश प्रदेशको मतपेटिका हराएको भन्ने समाचार भ्रमपूर्ण रहेको निर्वाचन समितिले जनाएको छ।
सञ्चारमाध्यममा मधेश प्रदेशको मतपेटिका हराएको समाचार प्रकाशित भएपछि निर्वाचन समितिले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समाचार भ्रमपूर्ण रहेको बताएको हो।
निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले मतपेटिकामा प्रदेशको नाम उल्लेख नगरिएको र त्यसको सट्टा नम्बर राखेर पहिचान गरिएको स्पष्ट पारेका छन्।
खड्काका अनुसार निर्वाचनमा प्रयोग गरिएका मतपेटिकालाई प्रदे्रको नामका आधारमा नभई क्लस्टर अनुसार नम्बर दिएर वर्गीकरण गरिएको छ।
मतपेटिकामा मधेश प्रदेश, कोशी प्रदेश वा अन्य प्रदेशको नाम लेखिएको नभई १, २, ३ लगायतका नम्बर राखिएको उनले बताए।
‘मतपेटिका भनेको क्लस्टरअनुसार गन्दै गएको हो। मधेश प्रदेश भन्ने नै होइन, मतपेटिकालाई हामीले १, २, ३ भनेर नामकरण गरेका छौँ,’ खड्काले भने, ‘मधेश प्रदेशको मतपेटिका हराएको भन्ने समाचार भ्रमपूर्ण हो। हामीले सबै मतपेटिकाको नम्बरिङ गरेका छौँ।’



