यो संयुक्त तस्बिरमा घडीको दिशामा माथि बायाँबाट क्रमशः होङ्गु–२, तल्लो वरुण, थुलागी र लुम्दिङ हिमतालका गुगल अर्थबाट लिइएका तस्बिरहरू।
काठमाडौँ– सरकारले हिमताल विस्फोटबाट हुने बाढीको उच्च जोखिममा रहेका चार हिमतालको पानीको सतह घटाउन पाँच करोड अमेरिकी डलरको जलवायु परियोजना कार्यान्वयन गरिरहेको छ। मनाङको थुलागी, संखुवासभाका तल्लो वरुण र होंगु-२ तथा सोलुखुम्बुको लुम्दिङ हिमताल उच्च जोखिमयुक्त मानिएका छन्। सम्भावित हिमताल विस्फोटको जोखिम न्यूनीकरणका लागि चार हिमतालको पानी घटाउने योजना अघि सारिएको हो।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले सन् २०२० मा गरेको अध्ययनले नेपालका २१ हिमताललाई सम्भावित रूपमा जोखिमयुक्त पहिचान गरेको थियो।
दोलखाको छो रोल्पा र इम्जा छोको अनुभवबाट सिक्दै सरकारले निकास नहर बनाएर पानीको सतह घटाउने उपाय अपनाउन लागेको हो। यी दुई हिमतालमा निकास नहर बनाएर पानीको सतह घटाइएको थियो।
यी चार हिमताल दुई प्रमुख नदी प्रणालीमा पर्छन्। थुलागी गण्डकीको मर्स्याङ्दी नदीमा मिसिन्छ। तल्लो वरुण अरुण नदीमा तथा लुम्दिङ छो र होङ्गु–२ सप्तकोशी नदी प्रणालीअन्तर्गतको दूधकोशी नदीमा मिसिन्छन्।
यी चार हिमतालको अवस्था यस्तो छ :
थुलागी : थुलागी नेपालका तीन हिमतालमध्ये एक हो, जहाँ इसिमोडले सन् २०११ मा हिमताल विस्फोटको जोखिमबारे स्थलगत अध्ययन गरेको थियो। मनास्लु हिमालको दक्षिणपश्चिम फेदीमा रहेको यो हिमतालबाट दोना खोला बग्छ। दोना खोला अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने धारापानीनजिक मर्स्याङ्दी नदीमा मिसिन्छ।
सन् २०१५ को एक अध्ययनले हिमतालको दुवैतर्फका भिरालो भूभागबाट ढुंगा खस्ने जोखिम रहेको देखाएको थियो। यद्यपि हिमपहिरोको जोखिम भने त्यति उच्च मानिएको थिएन। अध्ययनअनुसार सन् २०१० यता हिमतालको विस्तार लगभग रोकिएको छ।

यसले हिमताल आफ्नो अधिकतम क्षेत्रफलमा पुगिसकेको हुन सक्ने देखाउँछ। हिमतालको प्राकृतिक बाँधका रूपमा रहेको अन्तिम हिमोढ (हिमनदीको अन्तिम भागमा रहेको माटो) मा पोखरी र निकास नहर छन्।
पछिल्लो १५ वर्षमा तिनमा परिवर्तन देखिएकाले मोरेनभित्र बरफ रहेको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि यसको भिरालोपनका आधारमा मोरेन तुलनात्मक रूपमा स्थिर देखिन्छ।
उमेश हरितश्याय र उनको टोलीले सन् २०१८ मा गरेको अध्ययनले हिमतालको गहिराइ ७९ मिटर र पानीको मात्रा तीन करोड ६१ लाख घनमिटर रहेको अनुमान गरेको थियो। अध्ययनले करिब दुई दशकदेखि हिमतालको सतह क्षेत्रफल र पानीको मात्रा लगभग स्थिर रहेको पनि देखाएको थियो।
तल्लो वरुण : धेरै अध्ययनले तल्लो वरुणलाई नेपालका सबैभन्दा उच्च जोखिमयुक्त हिमतालमध्ये एक मानेका छन्। वरुण नदी हुँदै अरुण नदीमा मिसिने यो हिमताल २.७ किलोमिटर लामो र ६०० मिटर चौडा छ। यसको अधिकतम गहिराइ २०५ मिटर छ। यो मकालु–वरुण राष्ट्रिय निकुञ्जमा मकालु आधार शिविर जाने पदमार्गको छेउमै अवस्थित छ।
इसिमोडका अनुसार वरुण हिमनदी क्रमशः पछि हट्दै जाँदा र हिमोढको समूहअगाडि पग्लिएको पानी जम्मा हुँदै जाँदा लोअर बरुण हिमताल बनेको हो।
उमेश हरितश्याय र उनको टोलीको सन् २०१८ को अध्ययनअनुसार सन् २००० देखि २०१७ सम्म हिमतालको क्षेत्रफल ३४ प्रतिशतले बढेको थियो। पछिल्लो तीन वर्षमा मात्रै यसको क्षेत्रफल ०.१९ वर्ग किलोमिटर बढेको थियो।

दक्षिणी भिरालो भूभागबाट खस्ने ढुंगा र हिमपहिरोका कारण यो हिमताल विशेष जोखिममा छ। तल्लो वरुणभन्दा करिब ४.५ किलोमिटर उत्तरमा रहेको माथिल्लो वरुणबाट समेत माथिल्लो क्षेत्रमा हिमताल विस्फोटको सम्भावित जोखिम छ।
वरुणको हिमोढ तुलनात्मक रूपमा स्थिर देखिए पनि भूउपग्रह तस्बिरमा तल्लो वरुण त्सोको अन्तिम हिमोढमा पोखरी र निकासमा परिवर्तन देखिएको छ।
बरफयुक्त हिमोढ र हिमतालमा हुने गतिशील जोखिमको सम्भावनाका कारण अनुसन्धानकर्ताले तल्लो वरुणलाई अत्यन्त उच्च जोखिमयुक्त हिमतालका रूपमा वर्गीकरण गरेका छन्।
लुम्दिङ : इसिमोडले सन् २०११ मा लुम्दिङलाई थप अध्ययनका लागि उच्च प्राथमिकताको हिमतालका रूपमा वर्गीकरण गरेको थियो। फाक्दिङबाट क्वाङ्दे आधार शिविर जाने पदमार्गमा यो हिमताल अवस्थित छ।
सन् २०२१ को अध्ययनअनुसार लुम्दिङ हिमताल १.१८ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ। यसको जलाधार क्षेत्र ५२.१३ वर्ग किलोमिटर छ।
अध्ययनले हिमताल तीव्र गतिमा विस्तार भइरहेको देखाएको छ। यसको आसपासको सहायक उपत्यकामा तीनवटा हिमनदी छन् भने केही हिमनदी हिमतालसँग प्रत्यक्ष सम्पर्कमा छन्।
लुम्दिङ छोमा सम्भावित हिमताल विस्फोटको उच्च जोखिम रहेको अध्ययनले देखाएको छ। मात्रात्मक जोखिम मूल्यांकनले भने हिमतालमा गतिशील रूपमा बाँध भत्किने जोखिम उच्च र आफैँ विनाश हुने जोखिम मध्यम रहेको देखाएको छ।

धेरै अध्ययनले दक्षिणी भिरालो क्षेत्रबाट खस्ने ढुंगा र हिमपहिरो हिमतालमा खस्न सक्ने देखाएका छन्।
लुम्दिङ त्सोभन्दा करिब ६०० मिटर माथि रहेको सानो लुम्दिङ छो तेङबाट समेत जोखिम छ। समुद्री सतहबाट पाँच हजार १४१ मिटर उचाइमा रहेको यो हिमताल ०.३४ वर्ग किलोमिटरमा फैलिएको छ। यसको उत्तरपूर्वी भिरबाट ठूलो हिमपहिरो तथा आसपासका भिरबाट ढुंगा खस्ने जोखिम छ।
सन् २०१५ को अध्ययनले लुम्दिङको औसत गहिराइ ५१ मिटर, अधिकतम गहिराइ ११४ मिटर र कुल पानीको मात्रा पाँच करोड ७७ लाख घनमिटर रहेको अनुमान गरेको थियो।
होङ्गु–२ : होङ्गु–२ संखुवासभाको होङ्गु उपत्यकामा, सगरमाथा र मकालु क्षेत्रको बीचमा अवस्थित छ। अध्ययनहरूले होङ्गु–२ आफ्नो अधिकतम भौगोलिक विस्तारमा पुगिसकेको देखाएका छन्। अर्थात् अब हिमताल थप विस्तार हुँदा आसपासका जोखिममा उल्लेख्य परिवर्तन आउने सम्भावना कम छ।

तर दक्षिणी र पूर्वी भिरालो क्षेत्रबाट खस्ने ढुंगा र हिमपहिरोको उच्च जोखिममा यो हिमताल रहेको छ। यसको अन्तिम हिमोढको भिरालोपन १८.८ डिग्री छ।
अस्थिरताको उच्च सम्भावना देखाउने १० डिग्रीको सीमाभन्दा यो निकै बढी हो। सन् २०१५ को अध्ययनमा हिमोढमा पग्लिएको पानीका पोखरी देखिएका थिएनन् र भूउपग्रह तस्बिरमा निकास पनि स्थिर देखिएको थियो। यसले हिमोढभित्र बरफयुक्त संरचना नरहेको हुन सक्ने संकेत गर्छ।
भिरालो अन्तिम हिमोढ तथा हिमतालमा ढुंगा वा हिमपहिरो खस्ने सम्भावनाका कारण अनुसन्धानकर्ताले होङ्गु–२ लाई अत्यन्त उच्च जोखिमयुक्त हिमतालका रूपमा वर्गीकरण गरेका छन्।



