तेजुलाल चौधरी। फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री तथा पूर्वकेन्द्रीय सदस्य तेजुलाल चौधरीले पार्टीको १५औँ महाधिवेशनमा थारू क्लस्टरतर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।
चौधरी यसअघि कांग्रेसको १४औँ महाधिवेशनमा पनि थारू क्लस्टरतर्फबाट सहमहामन्त्रीका उम्मेदवार बनेका थिए।
उम्मेदवारी घोषणा गर्दै चौधरीले कांग्रेसको निष्ठा, मूल्य, मान्यता र लोकतान्त्रिक विरासतलाई जोगाउँदै पार्टीलाई समयको आवश्यकताअनुसार रूपान्तरण गर्नुपर्ने बताएका छन्।
उनले भने, ‘कांग्रेसको निष्ठा, मूल्य र लोकतान्त्रिक विरासतलाई जोगाउँदै, जनतासँग अझ नजिक र समयको आवश्यकता अनुसार रूपान्तरण हुन सक्ने कांग्रेस निर्माणको उद्देश्यसहित म नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा थारु कलस्टरबाट ‘सहमहामन्त्री’ पदमा उम्मेदवार छु।’
जनतासँग पार्टीको सम्बन्ध थप सुदृढ गर्दै कांग्रेसलाई जनअपेक्षा र भावनासँग जोडेर अघि बढाउन आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ।
पूर्वयुवा तथा खेलकुदमन्त्रीसमेत रहेका चौधरी लामो समयदेखि कांग्रेसको सक्रिय राजनीतिमा छन्। उनले सप्तरी क्षेत्र नं. ४ बाट संघीय संसद्मा २०७०, २०७४ र २०७९ मा प्रतिनिधित्व गरेका थिए। पार्टी तथा संसदीय राजनीतिमा विभिन्न जिम्मेवारी सम्हालिसकेका चौधरीले कांग्रेसको लोकतान्त्रिक चरित्र र समावेशी संरचनालाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले थारू समुदायसहित सबै समुदायको राजनीतिक सहभागिता र प्रतिनिधित्वलाई प्रभावकारी बनाउन आफूले भूमिका खेल्ने बताएका छन्। आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पदको आकांक्षाभन्दा कांग्रेसको मूल्य, निष्ठा र लोकतान्त्रिक संस्कारलाई थप बलियो बनाउने अभियानका रूपमा अघि बढाउने उनको भनाइ छ।
पार्टीलाई जनतासँग अझ नजिक पुर्याउन र संगठनलाई समयानुकूल रूपान्तरण गर्न सामूहिक सहकार्य आवश्यक रहेको चौधरीले बताएका छन्। उनले १५औँ महाधिवेशनका प्रतिनिधि, नेता तथा कार्यकर्तासँग विचार, सहभागिता र सहकार्यका लागि आग्रहसमेत गरेका छन्।



