एकवर्षमा १० हजार ७८३ पशुमा कृत्रिम गर्भाधान

हिमाल प्रेस १७ असोज २०८३ ७:१५ | Saturday, October 3, 2026
एकवर्षमा १० हजार ७८३ पशुमा कृत्रिम गर्भाधान फाइल तस्बिर।

तनहुँ- जिल्लामा पशुको नश्ल सुधार तथा उत्पादन वृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको कृत्रिम गर्भाधान सेवा प्रभावकारी बन्दै गएको छ। भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र स्थानीय तहअन्तर्गतका कृत्रिम गर्भाधान केन्द्रमार्फत आर्थिक वर्ष २०८२/८३ मा १० हजार ७८३ पशुमा कृत्रिम गर्भाधान भएको छ भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीले बताए ।

तनहुँमा १० वटा कृत्रिम गर्भाधान केन्द्र सञ्चालनमा छन् । ती केन्द्रमा ३० जना कृत्रिम गर्भाधानकर्ता परिचालित छन् । केन्द्रमार्फत एक हजार ९१० पशुमा कृत्रिम गर्भाधान गरिएको छ । जसमा एक हजार ३४५ गाई, ५६४ भैंसी र एक बङ्गुर छन्। त्यसैगरी स्थानीय तहअन्तर्गत सञ्चालित सेवामार्फत आठ हजार ८७३ पशुमा कृत्रिम गर्भाधान गरिएको केन्द्रले जनाएको छ । स्थानीय तहअन्तर्गत चार हजार ४३८ गाई, चार हजार ३८८ भैंसी, २० बाख्रा र २७ बङ्गुरमा कृत्रिम गर्भाधान गरिएको हो ।

प्राविधिक ठकुरीका अनुसार कृत्रिम गर्भाधानपछि गाईमा ६५ प्रतिशत, भैँसीमा ५० प्रतिशत, बाख्रामा ३० प्रतिशत र बङ्गुरमा ७६ प्रतिशत गर्भाधान दर रहेको छ । “पशुपालन व्यवसायमा उन्नत नश्लका पशुको सङ्ख्या बढाउन, दूध तथा मासु उत्पादन वृद्धि गर्न र पशुपालक किसानको आयआर्जन बढाउन कृत्रिम गर्भाधान सेवालाई महत्वपूर्ण मानिन्छ,” उनले भने ।

प्राकृतिक गर्भाधानको तुलनामा उन्नत नश्लका साँढे तथा राँगाको वीर्य प्रयोग गरी पशुको नश्ल सुधार गर्न सकिने भएकाले किसानमा यो सेवाप्रति आकर्षण बढेको उनले बताए ।

तनहुँमा कृत्रिम गर्भाधान सेवा लिने पशुको सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ । केन्द्रका अनुसार आर्थिक वर्ष २०८१–८२ मा नौ हजार ५५२ पशुमा कृत्रिम गर्भाधान गरिएको थियो । एक वर्षमा कृत्रिम गर्भाधान गरिएका पशुको सङ्ख्या एक हजार २३१ ले वृद्धि भएको छ । जिल्लामा व्यावसायिक रूपमा पशुपालन गर्ने किसानको सङ्ख्या बढ्दै जानु, उन्नत नश्लका पशुप्रति किसानको आकर्षण बढ्नु तथा स्थानीय तहसम्म कृत्रिम गर्भाधान सेवा विस्तार हुनुका कारण सेवाग्राही पशुको सङ्ख्या बढेको प्राविधिक ठकुरीले बताए ।

कृत्रिम गर्भाधानबाट उन्नत नश्लका पशु उत्पादनसँगै दूध तथा मासु उत्पादन बढाउन सहयोग पुग्ने भएकाले पशुपालनलाई व्यावसायिक र उत्पादनमुखी बनाउन यो सेवा प्रभावकारी भएको प्राविधिक ठकुरीले बताए ।

प्रकाशित: १७ असोज २०८३ ७:१५ | Saturday, October 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast