काठमाडौँ- बाढीपहिरो तथा डुबानका कारण अवरुद्ध सडक तथा नदी सुचारु गर्न नेपाली सेना परिचालन भएको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार पर्वतको जलजला गाउँपालिका-८ स्थित लस्ती र केराबारी तथा कुश्मा नगरपालिका-१ मालढुंगास्थित मध्यपहाडी लोकमार्गमा अवरुद्ध सडक खुलाउन सेनाको टोली परिचालन गरिएको छ।
त्यस्तै, म्याग्दीको बेनी नगरपालिका-४ तातोपानीमा अवरुद्ध सडक खुलाउने कार्यमा पनि नेपाली सेनाको टोली खटिएको छ।
सेनाको टोलीले स्थानीय तथा अन्य सुरक्षा निकायसँगको सहकार्यमा अवरोध हटाएर सडक सुचारु गर्न सहयोग गरेको निर्देशनालयले जनाएको छ।
यसैगरी, मनाङको चामे गाउँपालिका-४ स्थित ठाडो खोलामा आएको पहिरोका कारण थुनिएको मर्स्याङ्दी नदी खुलाउने कार्य पनि नेपाली सेनाको टोलीले गरिरहेको छ।
स्थानीय तथा अन्य सुरक्षा निकायसँगको समन्वयमा नदीको अवरोध हटाउने काम भइरहेको सेनाले जनाएको छ।



