काठमाडौँ- नेपाली कांग्रेसले आफ्नो १५ औँ महाधिवेशनमा सहभागी हुन विभिन्न राजनीतिक दलका प्रमुखहरूलाई निमन्त्रणा पठाएको छ।
आगामी १६ गतेदेखि काठमाडौँमा हुन लागेको पार्टीको १५ औँ महाधिवेशनमा अतिथिका रूपमा सहभागी हुन कांग्रेसले राजनीतिक दलका प्रमुखहरूलाई निम्तो पठाएको हो।
कांग्रेसले महाधिवेशनमा सहभागी हुन सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, विपक्षी दलहरू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा पठाएको छ।
कांग्रेस सहमहामन्त्री उदयशम्शेर राणाले तीनै दलका अध्यक्षहरूलाई भेटेर उद्घाटन सत्रमा सहभागी हुन निमन्त्रणा प्रदान गरेको जानकारी दिएका छन्।
उनले रास्वा, एमाले र नेकपाका अध्यक्षलाई भेटेर शुक्रबार निमन्त्रणा प्रदान गरेको बताएका छन्।
कांग्रेसको १५ औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने तय भएको छ। त्यस्तै संस्थापन इतर शेरबहादुर देउवा समूहले पनि महाधिवेशनको छुट्टै तयारी सुरू गरेको छ।
देउवा समूहले १५ औँ महाधिवेशनअन्तर्गत असोज १५ गते वडा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। यो समूहले मंसिरमा १५ औँ महाधिवेशन सम्पन्न गर्ने कार्यक्रम निर्धारण गरेको छ।



