काठमाडौँ- राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालमा फुट देखिएको छ। पार्टीका महासचिव केशव झासहित ९ जना केन्द्रीय सदस्यले पार्टीबाट राजीनामा दिएका छन्।
महासचिव झासहित राजीनामा दिने नेताहरूले विज्ञप्ति जारी गर्दै पछिल्ला राजनीतिक घटनाक्रमले पुरानो शैली र पुराना व्यक्तिहरूबाट देशको राजनीति अघि बढ्ने अवस्था नरहेको निष्कर्षसहित पार्टीबाट अलग हुने निर्णय गरेको बताएका छन्।
उनीहरूले देशका जनता निराश रहेको र विभिन्न संघर्ष तथा आन्दोलन भए पनि जनताका न्यूनतम आवश्यकता पूरा हुन नसकेको उल्लेख गरेका छन्।
नयाँ वैचारिकीका आधारमा बलियो अर्थतन्त्र निर्माण गर्न सहयोग पुग्ने अर्थ-राजनीतिको बाटोमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याइएको छ।
सामाजिक तथा सांस्कृतिक चेतनाको विकासका लागि अभियानलाई निरन्तरता दिने, राजनीतिक चेतनाका लागि संघर्षमा जोड दिने र आर्थिक चेतनाका लागि विद्रोहको तयारी गर्ने उनीहरूको भनाइ छ।
राजीनामा दिने नेताहरूले औपनिवेशिकताको अन्त्य नभएसम्म लोकतन्त्रको प्रत्याभूति सम्भव नहुने र लोकतन्त्र तथा शान्तिबिना समृद्धि हासिल गर्न नसकिने उल्लेख गरेका छन्।
उनीहरूले अहिलेसम्म प्राप्त उपलब्धिका लागि योगदान गर्ने सबैलाई धन्यवाद दिँदै अबको राजनीतिक यात्रा ‘हुंकार मधेश अभियान’सँग हुने जानकारी दिएका छन्।
समाजका विभिन्न पक्षका सक्षम तथा योग्य व्यक्तित्वलाई एकताबद्ध गरी विस्तृत योजनासहित छिट्टै सार्वजनिक रूपमा प्रस्तुत हुने प्रतिबद्धता पनि विज्ञप्तिमा जनाइएको छ।


