लुम्बिनीमा बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु (तस्बिरहरू)

विनोद परियार २ असोज २०८३ १३:३१ | Friday, September 18, 2026
लुम्बिनीमा बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु (तस्बिरहरू)

बुटवल- बुद्धजन्मस्थल लुम्बिनीमा बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल (गणेस)ले उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले लुम्बिनी कुनै देशको सीमाभन्दा माथि रहेको बताउँदै बृहत्तर लुम्बिनी क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए। उनले लुम्बिनीको संरक्षण र विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको धारणा राखे।

मन्त्री पौडेलले लुम्बिनीको सम्पदा संरक्षणका लागि विश्व बैंकको साझेदारीमा ग्लाण्ड परियोजना अघि बढाइएको जानकारी दिँदै लुम्बिनीको विश्वव्यापी प्रवर्द्धनमा सरकार जुटेको बताए।

उनले लुम्बिनीलाई भ्रमण गर्ने गन्तव्यका रूपमा नभई बुद्धका शिक्षाको अनुभव गर्ने, शान्ति र करुणाको विकास गर्ने, ध्यान तथा सचेतनाको अभ्यास गर्ने र आध्यात्मिक एवं समग्र कल्याण अनुभूति गर्ने स्थलका रूपमा प्रस्तुत गर्नुपर्ने बताए।

लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री पौडेलले सम्मेलनले लुम्बिनी विकास कोष, युनेस्को, इकोमोस, विश्व बैंक, बौद्ध समुदाय, स्थानीय समुदाय, विज्ञ तथा विकास साझेदारबीच साझा समझदारी निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

लुम्बिनी बौद्ध विश्वविद्यालयको सभाहलमा सुरु भएको सम्मेलनमा सरकारी अधिकारी, बौद्ध धर्मगुरु तथा समुदायका प्रतिनिधि, सम्पदाविद्, पर्यटनविद्, विकास साझेदार र स्थानीय प्रतिनिधिसहित १५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वको सहभागिता रहेको छ।

उद्घाटन समारोहमा लुम्बिनी प्रदेशका सांसद सीके गुप्ता, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, लुम्बिनी विकास कोषका निमित्त सदस्यसचिव ज्ञानीन राई, लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक नगरप्रमुख कल्पना हरिजन, नेपालका लागि युनेस्को प्रतिनिधि जाको दु टोइट तथा विश्व बैंकका प्रतिनिधि इलाड सेनफेल्डलगायतले सम्बोधन गरेका थिए।

उनीहरूले बृहत्तर लुम्बिनी क्षेत्रको दिगो पर्यटन प्रवर्द्धन तथा सम्पदा संरक्षणका लागि सम्मेलन महत्वपूर्ण हुने बताएका थिए।

सम्मेलनमा स्थानीय तहका प्रमुख तथा राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहेको युनेस्को संस्कृति क्षेत्र प्रमुख नभा बस्न्यात थापाले बताइन्।

बृहत्तर लुम्बिनी क्षेत्रमा बुद्धजन्मस्थल लुम्बिनी, प्राचीन तिलौराकोट दरबार, बुद्धकी आमा मायादेवीको माइतीघर देवदह, बुद्धको अस्थिधातु रहेको रामग्राम तथा पण्डितपुरलगायत महत्वपूर्ण पुरातात्त्विक तथा धार्मिक स्थलहरू रहेका छन्।

संघीय सरकारले विश्व बैंकको सहयोगमा अघि बढाएको ग्लाण्ड परियोजनाअन्तर्गत सम्मेलन आयोजना गरिएको हो। सम्मेलन असोज ४ गते साझा घोषणापत्र जारी गर्दै सम्पन्न हुनेछ।

लुम्बिनी सन् १९९७ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत भएको हो। विश्व सम्पदा समितिले सन् २०२६ मा लुम्बिनीको संरक्षणसँग सम्बन्धित विभिन्न विषयमा नेपाललाई थप काम गर्न आग्रह गरेको छ। सोही सन्दर्भमा आयोजना गरिएको सम्मेलनले लुम्बिनीको संरक्षण तथा दिगो विकासमा थप टेवा पुग्नेछ।

प्रकाशित: २ असोज २०८३ १३:३१ | Friday, September 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast