काठमाडौँ- नेपालले बंगलादेशसँग टी-२० क्रिकेट शृंखला खेल्ने भएको छ।
नेपालले आगामी चैतमा बंगलादेशसँग तीनवटा टी-२० क्रिकेट म्याच खेल्ने भएको हो। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।
नेपाल क्रिकेट संघ (क्यान) ले जनाएअनुसार चैत १२, १४ र १६ गते दुवै देशका टोली प्रतिस्पर्धामा उत्रिनेछन्।
घरेलु मैदानमा आईसीसीको पूर्ण सदस्य राष्ट्रविरूद्ध नेपालको यो पहिलो द्विपक्षीय टी-२० अन्तर्राष्ट्रिय शृंखला हुनेछ। यद्यपि आईसीसी पूर्ण सदस्य राष्ट्रविरूद्ध नेपालको यो दोस्रो टी-२० अन्तर्राष्ट्रिय शृंखला हो।
नेपालले सन् २०२५ मा सारजाहमा भएको द्विपक्षीय टी-२० अन्तर्राष्ट्रिय शृंखलामा वेस्टइन्डिजलाई २-१ ले पराजित गरेको थियो।
क्यानका सचिव पारस खड्काले यो शृंखला नेपाल र बंगलादेशबीचको जनस्तरको सम्बन्ध र क्रिकेटप्रतिको साझा प्रेम तथा मित्रताको सन्देश प्रवाह गर्ने बताएका छन्।
‘यो शृंखलालाई मित्रता र एकजुटताको प्रतीक बनाउन हामीसँग हात मिलाएकोमा बंगलादेश क्रिकेट बोर्डप्रति हार्दिक अभार व्यक्त गर्दछौँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
नेपाल र बंगलादेशबीच हालसम्म टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुईपटक भेट भएको छ, जसमा दुवै खेल बंगलादेशले जितेको छ।
दुवै टिमको पहिलो भेट २०१४ मार्च १८ मा बंगलादेशको चटगाँवमा आयोजित पुरुष टी-२० विश्वकपको पाँचौँ संस्करण (२०१४ वर्ल्ड टी २०) मा भएको थियो। त्यो खेल बंगलादेशले आठ विकेटले जितेको थियो।
त्यसपछि दुवै टोली २०२४ जुन १३ मा किङ्सटाउनमा आयोजित टी-२० विश्वकपमा भिडेका थिए। त्यो खेल पनि बंगलादेशले जितेको थियो। बंगलादेशले नेपाललाई २१ रनको अन्तरले पराजित गरेको थियो।


