महाकविको ६७ औँ स्मृति दिवस : प्रज्ञा-प्रतिष्ठानले पहिलोपटक मनाउँदै

हिमाल प्रेस २९ भदौ २०८३ ८:२९ | Monday, September 14, 2026
महाकविको ६७ औँ स्मृति दिवस : प्रज्ञा-प्रतिष्ठानले पहिलोपटक मनाउँदै

काठमाडौँ- नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। नेपाल प्रज्ञा-प्रतिष्ठानले पहिलोपटक महाकवि देवकोटाको स्मृति दिवस मनाउन लागेको प्राज्ञ परिषद् सदस्य नवीन अभिलाषीले जानकारी दिए।

अभिलाषीका अनुसार आज दिउँसो मैतीदेवीस्थित महाकवि देवकोटा सङ्ग्रहालयमा ‘महाकवि देवकोटा मिथ र यथार्थ’ विषयक गोष्ठी आयोजना गरिँदैछ। कार्यक्रममा महाकविका छोरा पद्म देवकोटाले स्मृतिपत्र र महादेव अवस्थीले समीक्षापत्र प्रस्तुत गर्ने कार्यसूची छ।

महाकवि देवकोटाको जन्म विसं १९६६ कात्तिक २७ गते लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो। उनको निधन २०१६ साल भदौ २९ गते भयो। दश वर्षको उमेरबाट कविता लेख्न सुरु गरेका देवकोटाका सयभन्दा बढी महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास र कविता प्रकाशित छन्।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य हालसम्म सबैभन्दा बढी बिकेको पुस्तक मानिन्छ। स्वच्छन्दतावादी प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ। भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटालाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरेका थिए। नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको टिप्पणी गरेका थिए।

विदेशी भाषामा नेपाली कृतिको अनुवाद र अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी उनले नेपाली साहित्यको प्रचारप्रसारमा ठुलो योगदान दिए। विसं २०१६ मा शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा उनले नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराएका थिए। नेपाल प्रज्ञा(प्रतिष्ठानको स्थापनामा पनि उनको सक्रिय योगदान छ।

तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, १० दिनमा ‘सुलोचना’ महाकाव्य र एकैदिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्नसक्ने देवकोटामा अद्भुत क्षमता थियो। चरम आर्थिक अभाव र पारिवारिक वियोगका बीच पनि उनले उच्चस्तरको साहित्य सिर्जना गरिरहे। देवकोटाले ‘पागल’ कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गरेका थिए। विसं २०२४ मा प्रकाशित ‘मायावीनी’ र ‘प्रमिथस’जस्ता कृति पाश्चात्य ग्रीसेली स्रोतबाट नेपालीकरण गरिएका उदाहरण हुन्।

प्रकाशित: २९ भदौ २०८३ ८:२९ | Monday, September 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast