पोखरा- रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको अध्यक्षमा वसन्त गौतम निर्वाचित भएका छन्।
शनिबार संस्थाको ३२ औँ वार्षिक साधारणसभा तथा १७ औँ अधिवेशनबाट गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो।
पोखराको चर्चित टेम्पल ट्रिका सञ्चालक गौतम मेड फाइभ, क्याफे कन्सर्टका पनि संचालक हुन्।
कार्यसमितिको निवर्तमान अध्यक्षमा विश्वराज पौडेल, प्रथम उपाध्यक्षमा विकास भट्टराई, द्वितीय उपाध्यक्ष योगेश भट्टराई, महासचिव वीरेन्द्र शेरचन, सचिव रोशनजंग कार्की, कोषाध्यक्ष सुरेश न्यौपाने र सहकोषाध्यक्ष सफल थापा छन्।
सदस्यहरु सुनिलबहादुर भट्टराई, सुमन भट्टराई, वैभव पौडेल, भीष्म पौडेल, लोकेश ढकाल, कृष्ण अधिकारी, राजबहादुर भुजेल, वसन्त न्यौपाने छन्।
दुई सदस्य अध्यक्षले मनोनीत गर्ने व्यवस्था छ। समितिको कार्यकाल दुई वर्षको हुनेछ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले साधारणसभाको उद्घाटन गरे।
यस अवसरमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश महासचिव जमुना वर्षा शर्मा सम्मानित भइन्। उनलाई नगद २० हजारसहित सम्मान गरिएको हो।
यसैगरी, नागरिक समाज पोखराका संस्थापक संयोजक एवं वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक रामबहादुर पौडेल, स्वयंसेवी सीताराम दाहाल, डुलुवा टिम पनि सम्मानित भए।
बर्सेनि अंग्रेजी नयाँ वर्ष अवसरमा पोखरामा सडक महोत्सव आयोजना गरेर देशविदेशका हजारौँ पर्यटक उतार्ने रेवानले पर्यटन प्रवद्र्धनसहित रेष्टुरेन्ट तथा बारमा कार्यरत कर्मचारीको क्षमता विकासका तालिम दिँदै आएको छ। संस्थामा करिब ९० सदस्य छन्।


