गजेन्द्रनारायण सिंह अस्पतालको घटना छानबिन गर्न टोली परिचालन भइसकेको छ : स्वास्थ्यमन्त्री

हिमाल प्रेस २६ भदौ २०८३ १४:४८ | Friday, September 11, 2026
गजेन्द्रनारायण सिंह अस्पतालको घटना छानबिन गर्न टोली परिचालन भइसकेको छ : स्वास्थ्यमन्त्री

काठमाडौँ- स्वास्थ्यमन्त्री निशा मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटनाको छानबिन गर्न छानबिन टोली गठन गरी परिचालन गरिसकिएको जानकारी दिएकी छन्।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समिति बैठकमा मन्त्री मेहताले घटना सार्वजनिक हुनेबित्तिकै नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रारको नेतृत्वमा पाँच सदस्यीय ‘एथिकल कमिटी’ र मन्त्रालयको ११ औँ तहका क्युरेटिभ डिभिजन प्रमुख डा. पवन रायमाझी सम्मिलित संयुक्त टोली गठन गरिएको जानकारी दिइन्।

छानबिन टोलीलाई तत्काल सत्यतथ्य पत्ता लगाउन राजबिराज पठाइएको र टोलीले त्यहाँ जाँचबुझ गरिरहेको उनले बताइन्।

उनले स्वास्थ्यकर्मी, अस्पताल प्रशासन, नर्सिङ वा पारामेडिक्स जोसुकैको गल्ती वा कमजोरी देखिए पनि मन्त्रालयले निर्मम भएर कानुनी कारबाही अघि बढाउने प्रतिवद्धता जनाइन्।

बैठकमा सांसद रमेश मल्लले गजेन्द्रनारायण सिंह अस्पताल संघीय सरकारमातहतकै अस्पताल भएकाले त्यहाँ घटेको गम्भीर घटनाप्रति मन्त्री र सचिवको प्रत्यक्ष नैतिक जिम्मेवारी लिनुपर्ने बताए। घटनामा संलग्न दोषीहरूमाथि मन्त्रालयले यथाशीघ्र छानबिन र अनुसन्धान गरी कडा कानुनी कारबाही अघि बढाउन उनले माग गरे।

उनले आगामी दिनमा सरकारी अस्पतालहरूमा यस्ता अमानवीय घटना दोहोरिन नदिन मन्त्रालयसँग के–कस्ता योजना र ठोस प्रतिबद्धता छन् भनी स्पष्ट पार्न माग गरे।

प्रकाशित: २६ भदौ २०८३ १४:४८ | Friday, September 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast