जेनजी आन्दोलन सम्झदै मन्त्री गौतमले भनिन्- फेरि यस्तो दिन कहिल्यै नदोहोरियोस्

हिमाल प्रेस २३ भदौ २०८३ १३:१० | Tuesday, September 8, 2026
जेनजी आन्दोलन सम्झदै मन्त्री गौतमले भनिन्- फेरि यस्तो दिन कहिल्यै नदोहोरियोस्

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले एक वर्षअघि सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध, भ्रष्टाचार र कुशासनविरुद्ध आवाज उठाउँदै सडकमा उत्रिएका युवामाथि गोली चलाइएको घटनालाई लोकतान्त्रिक इतिहासको पीडादायी घटनाका रूपमा स्मरण गरेकी छन्।

उनले सामाजिक सञ्जालमा एक वर्षअघि आजकै दिन एउटा पुस्ता हृदयभरिको असन्तोष बोकेर सडकमा उर्लिएको उल्लेख गर्दै त्यस आन्दोलनमा सहभागी अधिकांश युवा र विद्यार्थीको आँखामा सपना, मनमा आक्रोश र राज्यसँग जवाफ माग्ने प्रतिरोधको स्वर रहेको बताएकी छन्।

लोकतान्त्रिक देशमा असहमति राख्ने, प्रश्न गर्ने र विरोध गर्ने अधिकार नागरिकलाई संविधानले दिएको उल्लेख गर्दै मन्त्री गौतमले संविधान र लोकतन्त्रमाथि भरोसा गरेर युवाहरू आफ्ना असहमति र विरोधका स्वर बोकेर सडकमा निस्किएको बताइन्।

उनले आन्दोलनका क्रममा भीड बढ्दै गएपछि अवरोधहरू तोडिएको र परिस्थिति केही हदसम्म नियन्त्रणबाहिर गएको भए पनि त्यसपछि भएको घटनालाई ‘भीड नियन्त्रण’को घटनाका रूपमा मात्रै सम्झिन नमिल्ने धारणा राखेकी छन्।

‘राज्यसँग शक्ति थियो, सुरक्षा संयन्त्र थियो, तयारी गर्ने अवसर थियो र भीड नियन्त्रणका कम घातक विकल्पहरू पनि थिए। तर सडकमा गोली चल्यो। टाउको र शरीरमा गोली लाग्यो। हाम्रा कलिला भाइबहिनीहरू ढले। राज्यकै गोलीबाट ढले,’ मन्त्री गौतमले उल्लेख गरिन्।

बिहान आफ्नै हातले स्कुल तथा कलेज पठाएका कतिपय अभिभावकले साँझ आफ्ना छोराछोरी जीवित घर फर्किएको देख्न नपाएको उनले स्मरण गरिन्।

लोकतन्त्रप्रतिको विश्वास बोकेर घरबाट निस्किएका कतिपय युवा घर फर्किन नसकेको उल्लेख गर्दै मन्त्री गौतमले युवामाथि हानिएको गोलीसँगै राज्यप्रतिको भरोसा पनि ढलेको बताइन्।

राज्यले बन्दुक बोक्ने अधिकार जनताबाटै पाएको भन्दै उनले उक्त अधिकार निहत्था नागरिकमाथि बन्दुक चलाउन नभई जनताको सुरक्षा गर्नका लागि भएको स्पष्ट पारिन्। राज्यसँग जति ठूलो शक्ति हुन्छ, त्यति नै ठूलो संयम र जवाफदेहिता हुनुपर्ने उनको भनाइ छ।

‘भीड नियन्त्रणको उद्देश्य भीडलाई नियन्त्रण गर्नु हो, जीवन समाप्त गर्नु होइन। तर त्यो दिन भीड नियन्त्रण गर्ने नाममा जीवन समाप्त भए,’ उनले भनिन्।

मन्त्री गौतमले उक्त घटनाबाट युवाहरू मात्रै नगुमाएको भन्दै राज्यले संयम गुमाउँदा लोकतन्त्र कति निर्दयी बन्न सक्छ भन्ने पीडादायी पाठ पनि सिकिएको बताइन्।

एक वर्ष पूरा भएको दिनलाई स्मृतिको मात्रै नभई संकल्पको दिनका रूपमा लिनुपर्ने उनको भनाइ छ। ज्यान गुमाएका युवाको स्मृतिमा फेरि त्यस्तो दिन कहिल्यै दोहोरिन नदिने प्रतिबद्धता गर्नुपर्ने उनले उल्लेख गरिन्।

‘त्यो दिन सडकमा पोखिएको रगत हाम्रो स्मृतिबाट मेटिने छैन। त्यो ठूलो क्षति राज्य सुधारको आधार बनोस्,’ मन्त्री गौतमले सामाजिक सञ्जालमा लेखेकी छन्।

उनले उक्त बलिदान भविष्यका हरेक सत्तालाई आफ्नो मर्यादा, सीमा र कर्तव्य सम्झाइरहने चेतावनी बन्नुपर्ने उल्लेख गर्दै ज्यान गुमाएका युवाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिन्।

प्रकाशित: २३ भदौ २०८३ १३:१० | Tuesday, September 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast