काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी हिमाली महाविपत्तिको स्मरण तथा सरकारले घोषणा गरेको राष्ट्रिय शोक दिवसका अवसरमा पीडितप्रति श्रद्धाञ्जली व्यक्त गर्दै जलवायु न्यायसहित चार बुँदे सुझाव सार्वजनिक गरेको छ। सरकारले भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाएको छ।
पार्टी संयोजक दुर्गा शोभाले जारी गरेको विज्ञप्तिमा हिमाली महाविपत्तिले पुर्याएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ।
विज्ञप्तिमा उद्धार तथा राहतमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्वयंसेवकहरूको योगदानको प्रशंसा गर्दै विपद्को समयमा देखिएको राष्ट्रिय एकतालाई सकारात्मक पक्षका रूपमा उल्लेख गरिएको छ। पार्टीले यस्ता विपद्को प्रभावकारी व्यवस्थापनका लागि सरकारसमक्ष चार प्रमुख सुझाव अघि सारेको छ।
बेपत्ता नागरिकहरूको खोजीमा आधुनिक प्रविधिको अधिकतम प्रयोग गरी खोज कार्य तीव्र बनाउन, विस्थापित परिवारका लागि सुरक्षित आश्रय, खाद्यान्न, औषधोपचार र दीर्घकालीन पुनर्स्थापनाको सुनिश्चितता गर्न, अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको मुद्दा सशक्त रूपमा उठाई ‘लस एन्ड ड्यामेज फन्ड’ बाट प्रभावित हिमाली समुदायका लागि न्यायोचित क्षतिपूर्ति ल्याउन कूटनीतिक पहल गर्न तथा हिमाली क्षेत्रमा वैज्ञानिक अध्ययन र पूर्वसूचना प्रणालीलाई थप आधुनिक र प्रभावकारी बनाउन दीर्घकालीन योजना बनाउन आग्रह गरेको छ।
विज्ञप्तिमा नेपालले कार्बन उत्सर्जनमा न्यून योगदान गरे पनि जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको उल्लेख गर्दै हिमाली क्षेत्रका समुदायको संरक्षणका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा ठोस पहल आवश्यक रहेको पनि पार्टीको धारणा छ।


