काठमाडौँ- रसुवाको भोटेकोशी-त्रिशूली नदीमा गत बुधबार (भदौ १० गते) आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका रसुवागढी जलविद्युत् आयोजनाका कर्मचारीहरूको खोजी तथा उद्धार कार्य निरन्तर जारी रहेको छ।
उद्धार टोलीले पावरहाउसभित्र रहेका मुख्य संरचनाहरूसम्म पुगेर खोजी कार्यलाई तीव्र बनाएको छ।
नेपाली सेनाको उद्धार टोलीले पावरहाउसभित्रको कन्ट्रोल रूमसम्म पुग्ने प्रयास गरिरहेको छ भने अघिल्लो दिन ट्रान्सफर्मर क्याभर्न हुँदै कन्ट्रोल रूममाथिको भागसम्म खोजी गर्दा पनि सम्पर्कविहीन कर्मचारीहरू फेला पर्न सकेका छैनन्।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त उद्धार टोली आयोजनाको पावर हाउसको पाँचौँ र छैटौँ तलासम्म पुग्न सफल भए पनि अधिकांश भाग लेदोले भरिएकाले आज पनि लेदो पन्छाउँदै कन्ट्रोल रूमभित्र छिर्ने प्रयास जारी राखिएको छ।
यस्तै, पावरहाउस बाहिर सम्पर्कविहीन भएकाहरूको खोजीका लागि दक्ष रक क्लाइम्बरहरूको टोली परिचालन गरी घट्टेखोला र त्यस आसपासका जोखिमयुक्त क्षेत्रहरूमा ग्राउण्ड सर्च भइरहेको छ।
आज बिहान ९ बजेसम्म पनि बाढीमा परी सम्पर्कविहीन भएका मध्ये कसैको पनि अवस्था पत्ता लाग्न सकेको छैन।


