बाढीपीडितको पीडा

‘सास पाउने आशामा छैन, लास नपाउँदा अन्तिम संस्कार गर्न पाइएन’

हिमाल प्रेस २० भदौ २०८३ १०:४२ | Saturday, September 5, 2026
‘सास पाउने आशामा छैन, लास नपाउँदा अन्तिम संस्कार गर्न पाइएन’

बाँके- नेपालगञ्ज उपमहानगरपालिका २० थपुवा निवासी अनलाल रोकाय रसुवाको भोटेकोशी बाढीपश्चात सम्पर्कविहीन भएका दाजु, भाउजु र छोराको कि सास कि लासको पर्खाइमा छन्। भदौ १० गते आएको बाढीपश्चात् उनका लागि अहिले दिनहरू टोलाएर बिताउने माध्यम बनेका छन् ।

बाढीपछि रोकायका १९ वर्षीय छोरा दीपक, ५३ वर्षीय दाजु शेरसिंह र भाउजु विष्णुमती सम्पकैविहीन छन्। रसुवा भन्सार कार्यालय टिमुरेस्थित पार्किङमा काम गर्ने रोकायका दाजु र भाउजुसँगै गोसाइँकुण्ड घुम्न गएका छोरा दिपकको अवस्था हालसम्म अज्ञात छ । घटना भएको ११ दिनसम्म पनि कुनै जानकारी नपाएपछि पीडामाथि थप पीडा भएको रोकायले बताए। गोसाइँकुण्ड घुम्न गएका छोरासहित दाजु, भाउनु गुमाउँदाको पीडाले उनका आँसु रोकिएका छैनन्।

“चितवनको अस्पताल पुगेर सबै शव हेरेँ, कहीँ भेटिएको खबर आउँछ कि भन्ने आश थियो। दिनहरू बित्दै जाँदा निराशा बढ्दै गएको छ”, रोकायले भने, “हाम्रा मान्छे हराएको यति धेरै दिन भयो, सास कि लास केही नभेटिँदा झन पीडा र अलमल बढ्दै गएको छ।” शव पहिचान शुन्छ कि भनेर गर्न डीएनए परीक्षणको लागि रिपोर्ट गरेको उनले बताए। फेला परेका शव भन्दा हराएकाहरूको सङ्ख्या बढी रहेकाले सास र लासको आशा भने मर्दै गएको रोकायले बताए। उनको परिवारले लास वा सासको आश गर्दागर्दै हालसम्म धार्मिक संस्कारसमेत गर्न सकेको छैन।

“घटनाको प्रकृति हेर्दा अब हाम्रा मान्छेको सास वा लास आउने सम्भावना हराएको छ । हिमपहिरोमा परी बेपत्ता व्यक्तिको अन्तिम संस्कारका बारेमा सरकारले निधो गरिदिए हामीलाई सजिलो हुनेथियो”, उनले भने, “लास र सास पाउने आशामा धेरै दिन बिते, के आधारले काजक्रिया गर्ने भन्ने अलमलले धार्मिक संस्कार गर्न नपाउँदा थप पीडित हुन पुगेका छौँ।”

सुदूरपश्चिमको बाजुराबाट बाँकेको नेपालगञ्जमा बसाइँसराइ गरेका रोकाय परिवारका घरमूली दाजु शेरसिंह रोजगारीका लागि श्रीमतीसहित सात वर्षदेखि रसुवा भन्सार कार्यालय टिमुरेमा कार्यरत हुन्। चाडपर्व र काम पर्दा घर आएपनि अन्यबेला दाजु, भाउजु टिमुरेमै बस्दै आउनुभएको अनलालले बताए। उनका अनुसार पछिल्लो पटक गत असारमा पनि दाजु धान रोपाइँ गर्न घरमा आएको थियो।

पढाइमा अब्बल थिए दिपक

भोटेकोशी बाढीमापश्चात् बेपत्ता भएका छोरा दिपक पढाइमा अब्बल रहेको आमा कर्णसरी रोकायले बताइन्। नेपालगञ्ज २० राँझास्थित भेरी विद्या मन्दिरमा नर्सरीदेखि कक्षा ८ सम्म अध्ययन थिए । हाल स्नातक तहमा अध्ययनरत दिपकले काठमाडौँमा बसेर लोकसेवा तयारी गरिरहेका थिए।

‘स्कूल पढ्दा कक्षामा सधैँ पहिलो हुने गथ्र्यो, अहिले पनि लोकसेवामा नाम निकाल्ने भनेर मेहनत गरेर तयारी गरिरहेको थियो’, आमा कर्णसरीले भनिन्, ‘लोकसेवाको परीक्षा पनि दिइरहेको थियो, कतिपय परीक्षाको रिजल्ट नआउदै छोरो बेपत्ता भएको छ ।’

एउटै वडाबाट पाँच जना बेपत्ता

रसुवाको भोटेकोशी बाढी पश्चात नेपालगञ्ज २० का पाँच जना बेपत्ता भएका छन् । रोकाय परिवारका तीनसहित स्थानीय अराम दमाईं र उजना दमाईं गरी पाँच जना बेपत्ता भएका नेपालगञ्ज २० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले बताए।

उनका अनुसार रोकाय परिवारका सबै आफन्त नेपालगञ्ज २० थपुवामा बस्दै आएपनि अराम र उजनाका छोराछोरी काठमाडौँ बस्दै आएका छन् । बेपत्ता व्यक्तिको खोजी कार्य र आफन्तलाई आवश्यक सहयोगका लागि स्थानीयस्तरबाट सहयोग र समन्वय भइरहेको उनले बताए।

रसुवाको भोटेकोशी बाढीपश्चात् जिल्लाका २३ जना हालसम्म पनि बेपत्ता रहेका जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । हालसम्म तीनजनाको शव सनाखत भइसकेको जनाउँदै प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले हालसम्म ३२ जनाको सकुशल उद्धार भएको उल्लेख गरे।

प्रकाशित: २० भदौ २०८३ १०:४२ | Saturday, September 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast