जनकपुरमा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने गुठी संस्थानको तयारी

हिमाल प्रेस १९ भदौ २०८३ १८:०२ | Friday, September 4, 2026
जनकपुरमा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने गुठी संस्थानको तयारी फाइल तस्बिर

काठमाडौँ- गुठी संस्थानले जनकपुरधाम उपमहानगरपालिकाभित्र गुठीअन्तर्गत रहेका विभिन्न पोखरी तथा पोखरीका डिल अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने तयारी गरेको छ।

गुठी संस्थान जनकपुरधामले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै गुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिलमा विभिन्न व्यक्ति तथा संस्थाले अनधिकृत रूपमा संरचना निर्माण गरी भोगचलन गरिरहेका संरचना हटाउन निर्देशन दिएको हो।

पहिलो चरणमा सातवटा पोखरीको अतिक्रमण हटाएको गुठी संस्थानले दोस्रो चरणमा थप १५ वटा पोखरीको अतिक्रमित जग्गा खाली गराउने तयारी गरिएको गुठी संस्थान जनकपुरधामका प्रमुुख राजन कौशीले जानकारी दिए।

उनका अनुसार दोस्रो चरणमा देवान पोखरी (चन्द्रकूप), मध्यमा सर, रुक्मिणी सर, विडाल सर (विराही), गेन्ही पोखरी, ठाडी पोखरी, लवकी पोखरी (रजौल), कपालमोचनी सर, पुरन्दर सर, लवकी पोखरी (जिरोमाइलभन्दा उत्तरपूर्व), लक्ष्मण सर (बलराम सर), पापमोचनी सर, अग्निकुण्ड, सीताकुण्ड र विहारकुण्डलगायत पोखरी तथा तिनका डिलको अतिक्रमण हटाउने तयारी गरिएको छ।

गुठी संस्थानले सार्वजनिक सूचनामार्फत सम्बन्धित व्यक्ति तथा संस्थालाई सात दिनभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना तथा अतिक्रमित क्षेत्र खाली गर्न निर्देशन दिएको छ।

निर्धारित समयभित्र अतिक्रमण नहटाए प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत संस्थानले दिएको छ।

गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ कार्यान्वयन समितिको निर्णयका आधारमा उक्त सूचना जारी गरिएको गुठी संस्थानले जनाएको छ।

यसअघि गुठी संस्थानले जनकपुरधामस्थित गोरधोई पोखरी, दशरथ तलाउ, बिसहारा पोखरीलगायत सातवटा पोखरीको अतिक्रमण डोजर चलाएर हटाएको थियो।

प्रकाशित: १९ भदौ २०८३ १८:०२ | Friday, September 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast