काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको भीषण बाढीका कारण प्रभावित त्रिशूली-३ ए जलविद्युत् आयोजनाको टनेलभित्र एकभन्दा बढी व्यक्ति जीवित रहेको संकेत प्राप्त भएको छ। टनेलभित्रबाट व्यक्तिहरूको आवाज सुनिएको र उद्धार टोलीसँग प्रतिक्रिया आदानप्रदान भएको बताइएको छ।
तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय ऊर्जा तथा जलस्रोत विभाग प्रमुख श्रीराम न्यौपानेका अनुसार टनेलभित्र उद्धार कार्य अझै जारी छ।
उनका अनुसार उद्धार टोलीले टनेलभित्र रहेका व्यक्तिलाई ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया आएको थियो।
उनले टनेलभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको बताएका छन्। उद्धार टोलीले आवाज आएको स्थान पहिचान गरी उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।


