खोजीमा अथकित आफन्त

हिमाल प्रेस १८ भदौ २०८३ १८:४२ | Thursday, September 3, 2026
खोजीमा अथकित आफन्त

काठमाडौँ- दुवै छातीमा चित्रमय ट्याटु। आँखामा कालो चस्मा। चम्किलो अनुहार। हेर्दा आकर्षक लाग्ने यही तस्बिर अहिले ललितपुरको महालक्ष्मी नगरपालिका–७ निवासी शिशिर बस्नेतका आफन्तका लागि आशा र पीडाको प्रतीक बनेको छ। दिनहरू जति बित्दै जान्छन्, त्यति नै आफन्तको मन अमिलो र अनुहार निन्याउरो हुँदै गएको छ।

बस्नेतको त्यही तस्बिर बोकेर उगका आफन्त आठ दिनदेखि अस्पताल, प्रहरी कार्यालय र सम्भावित खोजीस्थलमा भौँतारिइरहेका छन्। भदौ १० गते भोटेकोशी नदीमा गएको विनाशकारी बाढीका समयमा सम्पर्कविहीन भएका बस्नेतको खोजीको प्रयास रोकिएको छैन।

टोलीसहित गोसाइँकुण्ड यात्रामा गएका शिशिर बाढीपछि परिवारको सम्पर्कमा नआएपछि खोजीको गर्नुको अर्को विकल्प पनि छैन। आठ दिन बितिसक्दा पनि परिवारले उनी भेटिने आशा बोकिरहेको छ।

‘उहाँलाई देख्नुभएको वा उहाँका बारेमा कुनै जानकारी पाउनुहुने महानुभावले कृपया परिवार वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहोला,’ शिशिरको तस्बिरसहितको सूचनामा भनिएको छ।

उनका आफन्तले शिशिरको तस्बिरसहितको सूचना काठमाडौँको ट्रमा सेन्टर, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललगायतका स्थानमा टाँसेका छन्।

बाढी तथा पहिरोपछि शव संकलन तथा पहिचान भइरहेका नुवाकोट, चितवनलगायतका स्थानमा समेत आफन्तहरू पुगेर खोजी गरिरहेका छन्।

‘हामी अझै आशावादी छौँ। सबैलाई खोजखबरका लागि आग्रह गर्दछौँ,’ ट्रमा सेन्टरमा भेटिएका शिशिरका जेठा तथा माइला दाइ र परिवारका सदस्यले एकैसाथ भने, ‘शिशिरको सम्झना कति हुन्छ कति। आँखामा आँसुको धारा बोकेर हिँडेका छौँ। सबै अस्पतालदेखि चितवनसम्म परिवार र आफन्तलाई खोजीका लागि पठाएका छौँ। दुःख छ, पीडा छ तर खोजतलास जारी राखेका छौँ। सबै नेपालीले सहयोग गर्नुहुनेछ भन्ने आशा छ।’

शिशिरजस्तै बाढीपछि सम्पर्कविहीन भएका आफ्ना आफन्तको खोजीमा अन्य परिवार पनि दिनरात लागिरहेका छन्। रसुवाको हाकुबेँसीमा निर्माणाधीन २१६ मेगावाट क्षमताको जलविद्युत् आयोजनामा कार्यरत संगम थापा घर्तिमगर पनि बाढी आएको समयदेखि सम्पर्कविहीन छन्।

बाँकेको नौबस्ता निवासी २२ वर्षीय घर्तिमगर आयोजनास्थलबाट करिब १५ किलोमिटर टाढा रहेको स्थानमा अन्तिमपटक मोबाइल सम्पर्कमा रहेको उनका आफन्त छविलाल थापा मगरले बताए। बाढी आएपछि उनीसँग सम्पर्क हुन सकेको छैन।

‘मेरो मामा रमेश घर्तिमगरको एक्लो छोरा हो। २२ वर्षीय भाइलाई सबैतिर खोजिरहेका छौँ। अहिलेसम्म कुनै सम्पर्क वा संकेत मिलेको छैन,’ छविलालले भने।

बाढीले रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति पु¥याएपछि त्यहाँ कार्यरत, यात्रा तथा अन्य प्रयोजनले पुगेका कतिपय व्यक्ति बेपत्ता भएका छन्। उनीहरूका परिवारजन भने आफन्त भेटिने आशामा अस्पतालदेखि सम्भावित घटनास्थलसम्म पुगिरहेका छन्।

रसुवा बाढी आएसँगै पत्रकार टेकराज थामी पनि बाढी आएको क्षेत्र रसुवागढीबाट हालसम्म परिवारको सम्पर्कमा आएका छैनन्। उनकी श्रीमती एवं राससकर्मी कालिका खड्का श्रीमान खोजीका लागि सम्भावित स्थान र निकायमा पुगिरहेकी छन्।

नयाँ पत्रिका दैनिकमा कार्यरत थामी चीनको केरुङमा हुने एक कार्यक्रमका लागि रसुवागढी हुँदै त्यसतर्फ जानेक्रममा थिए। पत्रकार थामीको खोजीका लागि नेपाल पत्रकार महासंघ, रासस, नयाँ पत्रिका तथा पत्रकारसम्बद्ध विभिन्न संस्थाका तर्फबाट सम्बन्धित निकायमा खोजीको पहलका लागि आग्रह हुँदै आएको छ।

सरकारका तर्फबाट रसुवागढी क्षेत्रमा समयमै विशेष खोजी र उद्धारको पहल अपेक्षा गरिएअनुसार नभएको गुनासोसहित खोजी तथा उद्धार प्रयासलाई निरन्तरता दिन बेपत्ताका परिवारका तर्फबाट आग्रह गरिएको छ।

विपद्को पीडासँगै बेपत्ता आफन्तको खोजीमा उनको परिवारले पनि दिनरात बिताइरहेको छ। बाढीको पानी घट्दै गए पनि बेपत्ता आफन्तको प्रतीक्षा गरिरहेका परिवारको पीडा भने झन् गहिरिँदै गएको छ।

अस्पतालका शवगृह, प्रहरी कार्यालय, नदी किनार र सम्भावित घटनास्थलमा आफन्तको तस्बिर बोकेर पुग्ने परिवारजनको एउटै प्रश्न छ, ‘हाम्रो मान्छे कहाँ हुनुहुन्छ?’

समय बित्दै जाँदा खोजी कठिन बन्दै गए पनि परिवारले आशा छाडेका छैनन्। कसैले दिएको एउटा सूचना, अपरिचित व्यक्तिले पठाएको एउटा तस्बिर वा कुनै सानो संकेतले पनि बेपत्ता आफन्तसम्म पुग्न सकिने आशामा उनीहरू निरन्तर खोजीमा छन्।

विपद्का बेला उद्धार, राहत र पुनःस्थापनासँगै बेपत्ता व्यक्तिको खोजी तथा पहिचान पनि उत्तिकै महत्वपूर्ण मानिन्छ। बेपत्ता परिवारजनले सरकारी निकाय, सुरक्षा निकाय, अस्पताल तथा सर्वसाधारणसँग बेपत्ता आफन्तको खोजीमा समन्वय र सहयोग गरिदिन आग्रह गरेका छन्।

बाढीले घर, संरचना र भौतिक सम्पत्ति बगाए पनि त्यसको क्षति कुनै न कुनै रूपमा आँकलन गर्न सकिन्छ। तर आफन्त बेपत्ता हुँदा परिवारले भोग्नुपरेको अनिश्चितता र प्रतीक्षाको पीडा मापन गर्न कठिन हुन्छ। त्यसैले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै बेपत्ता व्यक्तिको खोजीलाई थप तीव्र र व्यवस्थित बनाउनुपर्ने आवाज उठिरहेको छ।

प्रकाशित: १८ भदौ २०८३ १८:४२ | Thursday, September 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast