कृष्णभीर सडक।
काठमाडौँ- अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण विषेशगरी बागमती प्रदेशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्।
नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार केही सडक पूर्णरूपमा अवरुद्ध छन् भने केहीमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ।
त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी सडकखण्डअन्तर्गत रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेलगायत विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध छ।
टोखा-छहरे तथा पासाङल्हामु सडकखण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका-घट्टेखोलामा राति १०ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। बेत्रावती नगरपालिका-१० सिमटारमा सडक पूर्णरूपमा अवरुद्ध छ।
पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ कृष्णभीरमा पहिरोका कारण सडक अवरुद्ध छ भने गजुरी-२ परेवा भीरमा साना सवारीसाधन एक लेनबाट सञ्चालन भइरहेका छन्। ज्वाडखोला र कमेरेभीरमा पहिरो हटाई एकतर्फी सवारी सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
काठमाडौँ-धादिङ सडकखण्डअन्तर्गत चन्द्रागिरि नगरपालिका-२ चिसापानीमा गएराति पहिरो हटाएपछि अहिले एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको खुर्कोट-नेपालथोक-कटुञ्जेबेँसी क्षेत्रमा बाढीको जोखिमलाई ध्यानमा राखी सवारी सञ्चालनमा समयसीमा निर्धारण गरिएको छ।
साँझ ७ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म १० टनसम्मका मालवाहक सवारी सञ्चालन गर्न दिइएको छ भने बिहान ४ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म अवस्था मूल्यांकन गरी अन्य सवारी सञ्चालन गर्न अनुमति दिइएको छ।
प्रहरीले यात्रामा निस्कनुअघि सडकको अवस्था बुझ्न तथा जोखिमयुक्त क्षेत्रमा रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।


