काठमाडौँ- रसुवाको भोटेकोशी-त्रिशूली नदीको बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा जमिनी खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ।
सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार बिहान ११ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न जलविद्युत् आयोजनाका टनेलभित्र र प्रभावित बस्तीहरूमा संयुक्त उद्धार अभियान जारी रहेको जनाएको छ।
रसुवागढी जलविद्युत् आयोजनाको टनेलमा उद्धार टोली करिब १५० मिटरभित्रसम्म पुगे पनि ठूला चट्टानले अवरोध गरेपछि थप अघि बढ्न नसकेको जनाएको छ। सेनाका अनुसार आज पुनः अवरोध हटाउँदै खोज तथा उद्धार कार्य जारी राखिएको छ।
लाङटाङ जलविद्युत् आयोजनामा विदेशीसहित २५ सदस्यीय संयुक्त टोली टनेलभित्र करिब १५० मिटर प्रवेश गरेर खोज तथा उद्धार गरिरहेको छ।
चिलिमे जलविद्युत् आयोजनामा पनि विदेशीसहितको संयुक्त टोली परिचालन गरिएको छ भने अपर त्रिशूली-१ (हाँकु) क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार जारी राखेको छ।
त्रिशूली-३ए जलविद्युत् आयोजनामा नेपाली सेनासहित ९३ सदस्यीय संयुक्त टोलीले तीन वटा स्काभेटर र एउटा बबक्याट प्रयोग गरी माटो हटाएको छ।
कम्प्रेसर मेसिन, ब्रेकर र ब्लास्टिङपछि टनेलको आउटलेट भेटिएको सेनाले जनाएको छ। वर्षाका कारण राति जमेको करिब डेढ मिटर पानी पम्पमार्फत बाहिर निकाल्ने काम पनि गरिएको छ।
त्रिशूली-३बी आयोजनामा नेपाली सेनाका ६१, तीन जना गैरसैनिक तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको टोलीले आयोजनाको कार्यालय र आवास क्षेत्र पहिचान गरेको छ। त्यस क्षेत्रमा पुग्न स्काभेटर प्रयोग गरेर बाटो बनाउने काम भइरहेको छ।
सेनाका अनुसार प्रभावित क्षेत्रका जङ्गल, डाँडा, खोला र बस्तीमा पैदल गस्ती गरेर स्थानीयको अवस्था बुझ्ने तथा उद्धार आवश्यकताको मूल्याङ्कन गर्ने काम भइरहेको छ।
त्रिशूलीपारिको कोलोनीदेखि तुप्चे, सोले बजार र नुवाकोटका विभिन्न स्थानमा पनि खोज तथा उद्धार अभियान जारी छ।
टिमुरे क्षेत्रमा फेला परेका शव व्यवस्थापनका लागि स्लिङ लोड अपरेसनमार्फत शव त्रिशूलीसम्म ल्याउने कार्य सुरु गरिएको सेनाले जनाएको छ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा नेपाली सेनाका ९ हजार २ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालित छन्।
उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक खुलाउने तथा आपत्कालीन उपचारमा समन्वयात्मक रूपमा काम गरिरहेको नेपाली सेनाले जनाएको छ।


