काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापक पदका लागि दरखास्त दिने म्याद थप गरेको छ।
पछिल्लो समय आएको प्राकृतिक विपत्तिका कारण सडक सञ्जाल र जनजीवन प्रभावित भएकाले आवेदन दिने समय भदौ २३ गतेसम्म कायम गरिएको हो।
महानगरको शिक्षा विभागले सोमबार सूचना जारी गर्दै यसअघि भदौ २ गते प्रकाशित प्रधानाध्यापक पदपूर्तिसम्बन्धी सूचना अनुसार आवेदन दिने म्याद थपिएको जनाएको छ। उक्त निर्णयको सूचना भदौ १७ गते दोस्रो पटक प्रकाशित गरिएको हो।
महानगरअन्तर्गत सञ्चालित २२ वटा माध्यमिक र १४ वटा आधारभूत सामुदायिक विद्यालय मा रिक्त रहेका प्रधानाध्यापक पदमा नियुक्तिका लागि आवेदन आह्वान गरिएको थियो।
महानगरले शिक्षा नियमावली, २०५९ (दशौँ संशोधनसहित) को नियम ९३ बमोजिम योग्य उम्मेदवारलाई थपिएको म्यादभित्र आवश्यक कागजात र विद्यालय विकास प्रस्तावसहित सम्बन्धित विद्यालयमा रीतपूर्वक दरखास्त पेस गर्न आग्रह गरेको छ।


