रसुवा बाढी : आफन्त नभेटिएका २८० शव देवघाटमा गाडियो

हिमाल प्रेस १६ भदौ २०८३ ८:११ | Tuesday, September 1, 2026
रसुवा बाढी : आफन्त नभेटिएका २८० शव देवघाटमा गाडियो

चितवन- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवमध्ये हालसम्म २८० शवको ‘फरेन्सिक’ परीक्षण तथा ‘डीएनए’ नमूना संकलन गरी चितवनको देवघाटस्थित व्यवस्थापन स्थलमा गाडिएको छ।

भरतपुर अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार यही भदौ १० गते रातिदेखिनै सुरक्षाकर्मीले त्रिशूली नदीबाट संकलन गरेका शव अस्पतालमा ल्याई गाडिएको हो । यही भदौ ११ गते बिहानदेखि फरेन्सिक विज्ञको नेतृत्वमा चिकित्सक टोली परिचालन गरी शव पहिचानका लागि आवश्यक फरेन्सिक परीक्षण, डीएनएलगायत जैविक नमूना संकलन तथा अभिलेखीकरणको काम सुरु गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म त्रिशूली र नारायणी नदीबाट ३२१ शव संकलन गरिएको छ । तीमध्ये १२ शवको सनाखत भई आफन्तले बुझिसकेका छन्। संकलित शवमध्ये ६६ महिला, ११६ पुरुष, सात बालक, छ बालिका र १२६ पहिचान खुल्न नसकेका वा अवस्था नखुलेका शव रहेका छन्।

उनले भविष्यमा पहिचान गर्न सकिने गरी अन्तरराष्ट्रिय मान्यताअनुसार देवघाटस्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा ती शवको व्यवस्थापन गरिएको बताए। भदौ १३ गते ९६ शव, भदौ १४ गते १०३ शव र भदौ १५ गते ८१ शव व्यवस्थापन गरिएको हो ।

प्रहरी उपरीक्षक पौडेलले नदी किनारमा शव खोज्ने कार्य अझै दैनिक रूपमा जारी रहेको बताए। नदीबाट फेला परेका शव भरतपुर अस्पताल ल्याई फरेन्सिक परीक्षण र डीएनए नमूना संकलन गरेपछि देवघाटस्थित व्यवस्थापनस्थलमा सुरक्षित रूपमा व्यवस्थापन गर्ने कार्य निरन्तर भइरहेको उनले जानकारी दिए।
–––

प्रकाशित: १६ भदौ २०८३ ८:११ | Tuesday, September 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast