रसुवास्थित जल विद्युत् आयोजनाको सुरुङमा उद्धारमा खटिएका उद्धारकर्मी। तस्बिर : रासस
काठमाडौँ- रसुवा बाढीमा परेर हालसम्म ९३९ जनाको निधन भएको पुष्टि भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले साँझ ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढीमा परेर ९३९ जनाको मृत्यु भएको पुष्टि गरेको हो।
त्यस्तै ३ हजार ९२५ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले जनाएअनुसार नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका ३ सहित रसुवाबाट ८६५ जना सम्पर्कविहीन छन्।
त्यस्तै नुवाकोटबाट करिब १ हजार ५५८ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। जलविद्युत आयोजनाबाट करिब ६३९, विदेशी नागरिक ५९२, विदेशी पर्यटकसँगै घुम्न गएका नेपाली १६४, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ र क्वारेन्टाइन कार्यालयका ३ जना सम्पर्कविहीन अवस्थामा छन्।
हालसम्म ११ हजार ३७९ जनाको उद्धार गरिएको र २७९ जना घाइते रहेको प्राधिकरणले जनाएको छ। उद्धार तथा खोजी अभियानका लागि नेपाल प्रहरीका ७ हजार ९०९, नेपाल सेनाका ८ हजार ८९६ र सशस्त्र प्रहरी बल नेपालका ४ हजार २०३ गरी २१ हजार ८ सुरक्षाकर्मी परिचालन भएका छन्।
बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व तथा पश्चिम, तनहुँ र चितवनलगायतका जिल्ला प्रभावित भएका छन्।



