बुटवल- नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले सरकारले स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने प्रयास गरे आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।
सोमबार बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीको २२औँ साधारणसभा तथा १०औँ अधिवेशन उद्घाटन गर्दै उनले वर्तमान सरकार नियन्त्रित लोकतन्त्रको बाटोमा हिँडेको आरोप लगाए।
निजी सञ्चारमाध्यमको विज्ञापन रोकेर कमजोर बनाउने र सरकारी धारणा मात्र स्थापित गर्न खोजिएको उनको दाबी थियो।
लम्सालले पत्रकार कल्याणकारी कोषको रकम रोक्ने प्रयास भइरहेको आरोप लगाउँदै प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको रक्षाका लागि सबै पत्रकार संगठन मिलेर आन्दोलन गर्नुपर्ने बताए।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष प्रेम केसी, महासचिव दिलिप पौडेल, कांग्रेस नेता रामबहादुर थापा, बुटवलका मेयर खेलराज पाण्डेयलगायतले पत्रकारिताले समाजलाई सही दिशामा अघि बढाउन भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।
अवसरमा जीपी कोइराला पत्रकारिता पुरस्कारबाट विक्रम खड्का र रेखा भुसाल तथा शिक्षा पत्रकारिता पुरस्कारबाट छवि पाण्डे सम्मानित भएका छन्।


