यसरी भइरहेको छ सुरुङमा फसेकाहरुको उद्धार

हिमाल प्रेस १४ भदौ २०८३ २१:३८ | Sunday, August 30, 2026
यसरी भइरहेको छ सुरुङमा फसेकाहरुको उद्धार

काठमाडौँ- गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजना प्रभावित भएका छन्। प्रभावित आयोजनामा मानिससमेत फसेका सूचना आइरहेका छन्।

प्रभावित क्षेत्रमा कति जलविद्युत् आयोजना थिए र त्यहाँ कति मानिसहरु फसिरहेका छन् त? त्यस्तै सरकारले त्यहाँ फसिरहेका मानिसलाई उद्धारका लागि के के प्रयास गरिरहेको छ त? र, हालसम्मको प्रगति के छ?

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अनुसार बाढीका कारण त्यस क्षेत्रमा ११ वटा आयोजना प्रभावित भएका छन्। नेपाली सेनाका अनुसार पछिल्लो चार दिनदेखि सुरुङमा फसेकाको उद्धारको प्रयास जारी छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हेलिकप्टरमार्फत आइतबार दिउँसोसम्म २७९ जनाको उद्धार भइसकेको छ।

रसुवाको माथिल्लो त्रिशूली–१ का प्रवर्द्धक रहेको नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट प्रालिका प्रमुख कार्यकारी गिरिराज अधिकारीका अनुसार सुरुङ आसपासबाट दुई दिन लगाएर २५० भन्दा बढीको उद्धार गरिएको थियो।

साथै अहिले करिब ३०० जना जति टनेलभित्रै फसेको अनुमान रहेको उनको भनाइ छ।

‘करिब १० किलोमिटर लामो टनेलमा तीन वटा अडिट टनेल छन्, त्यहाँ काम गरिरहेका चिनियाँसहितको टोली फसिरहेको छ, हामी उद्धारको पर्खाइमा छौँ,’ उनले भने।

आयोजना क्षेत्रमा चिनियाँ टोलीलाई ड्रप गरिएको छ। उक्त क्षेत्रमा कोरियाको आठ जनाको टोलीले समेत एरियल रेकी गरिसकेको छ। साथै एउटा चिनियाँ टिमले टनेलभित्र तीन किलोमिटरसम्म सर्च गरिसकेको नेपाली सेनाले जनाएको छ।

नुवाकोटको माथिल्लो त्रिशूली ३ ‘ए’ आयोजनाबाट ४२ जना सम्पर्कविहीन छन्। नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक मदन तिम्सिनाका अनुसार आयोजनाको सुरुङमा अहिले उद्धारको काम सुरु भइसकेको छ।

आयोजनाको सुरङभित्र फसेका मानिसको उद्धारका लागि नेपाली सेनाका इञ्जिनियरद्वारा ब्लास्टिङ गर्नेसम्मका प्रयास अघि बढाएको जनाएको छ।

उनका अनुसार उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिम प्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका साथ सशस्त्र प्रहरी बलका १८ जना र नेपाल प्रहरीका छ जना गरी कूल ९० जनाको संयुक्त टोली खटिएको छ।

टोलीले आइतबार दिउँसो २ः०० बजे सुरुङको मुख्य भाग (क्राउन हेड) मा पुगेर २×३ फिटको प्वाल बनाएको थियो। डोरीको सहायताले (¥यापेल गरेर) टोली तल झरेर बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया नआएपछि उद्धारलाई थप सहज र तीव्र बनाउन ठूला उपकरण, ब्लास्टिङ तथा प्वाल फराकिलो पार्ने काम एकसाथ जारी राखिएको नेपाली सेनाले जनाएको छ।

त्यसैगरी नुवाकोटको माथिल्लो त्रिशूली थ्री ‘बी’ मा फसेकाहरुको पनि उद्धार जारी छ। आयोजनामा भैरवनाथगढ र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीद्वारा खोज तथा उद्धार कार्य भइरहेको छ।

आयोजनाको सुरुङभित्र फसेका मानिसको सुरक्षित उद्धारका लागि नेपाल सरकारले विशेष संयन्त्र परिचालन गर्दै निरन्तर प्रयास जारी राखेको छ। थ्री ‘बी’ मा चिनियाँ विशेषज्ञ टोलीले नेपाली सेनासँगको समन्वयमा काम गरिरहेको नेपाली सेनाले जनाएको छ।

त्यसैगरी रसुवाका चिलिमे र लाङटाङ खोला जलविद्युत् आयोजनामा भारतीय टिमले रेकी गरी पम्प र एक्सासिभेटरको तयारी भइरहेको छ। चिलिमे आयोजनाको सुरुङमा फसेका ६ जनाको उद्धारका लागि नेपाली सेनाको टोलीले काम गरिरहेको बताइएको छ।

चिलिमेमा भारतीय विज्ञ टोलीले नेपाली सेनाको समन्वयमा काम गरिरहेको छ। लाङटाङ खोला जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा प्याट्रोल भइरहेको छ।

आयोजनाका प्रबन्धक तथा इप्पानका सचिव विजय एम भट्टराईका अनुसार आयोजनामा कार्यरत ४१ जना अझै सम्पर्कविहीन छन्। जसमध्ये आयोजनाका सुरक्षाकर्मी दुई र १३ कर्मचारी तथा बाँकी २६ कामदार सम्पर्कविहीन भएको अवस्था छ।

‘आयोजनाको सुरुङ लामो छैन, १५० मिटर मात्रै भित्र होला, सुरुङभित्र फसेकामध्ये दुई जना आफैँ बाहिर आइसक्नुभएको छ भने बाँकी त्यहीभित्र हुनुहुन्छ सूचना छ, उहाँहरु उद्धारको पर्खाइमा हुनुहुन्छ,’ सचिव भट्टराईले भने।

रसुवाकै मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि कोरियन विशेषज्ञको टोलीले हवाई रेकी गरेर काम सुरु भइसकेको जनाएको छ।

प्रकाशित: १४ भदौ २०८३ २१:३८ | Sunday, August 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast