सुर्खेत– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि बौद्धिक एजुकेसन एकेडेमी सुर्खेत परिवारले प्रधानमन्त्री राहत कोषमा २५ हजार एक सय पाँच रुपैयाँ सहयोग गरेको छ।
एकेडेमीले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री राहत कोषको कृषि विकास बैंकको क्यूआर कोडमार्फत जम्मा गरेको जनाएको छ।
एकेडेमीले जारी गरेको सूचनामा विनाशकारी बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन र नवलपरासी जिल्लामा ठूलो जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गरिएको छ।
बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ।
विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्ष एकजुट हुनुपर्ने एकेडेमीले जनाएको छ।
एकेडेमी परिवारका तर्फबाट संकलित रकम राहत कोषमा जम्मा गरिएको जनाउँदै उसले विपद्का समयमा मानवीय सहयोग सबैको साझा दायित्व भएको उल्लेख गरेको छ। साथै, बाढीपीडितको राहत, उद्धार र पुनःस्थापनाका लागि आवश्यक सहयोगमा जुट्न सबैलाई आग्रह गरेको छ।


