काठमाडौँ- भोटेकोशी नदीमा पानीको बहाव बढेको सूचनापछि त्रसित बनेका तटीय क्षेत्रका नागरिकका लागि राहतको खबर आएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हाल रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको स्पष्ट पारेको छ ।
महाशाखाले आज बिहान ५ः४५ बजे अद्यावधिक सूचना जारी गर्दै जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त पछिल्लो जानकारीका आधारमा सो क्षेत्रमा तत्काल ठूलो बाढीको खतरा नरहेको जानकारी दिएको हो ।
महाशाखाका अनुसार भोटेकोशी नदीमा बहाव बढेको सूचना आएपछि गरिएको पछिल्लो अनुगमनमा नुवाकोट क्षेत्रमा पानीको सतह केही बढेको देखिए पनि त्यो ठूलो भने नरहेको पाइएको छ ।
सोही अवस्थालाई आधार मान्दै महाशाखाले हाललाई रसुवा, नुवाकोट हुँदै धादिङसम्मको नदी तटीय क्षेत्रमा ठुलो बाढीको कुनै जोखिम नरहेको जनाएको छ । यसअघि नदी सुसाएको र बहाव बढेको सूचनाका आधारमा ती क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह गरिएको थियो ।


