‘सरकार बाढी प्रभावितको साथमा छ’

हिमाल प्रेस १३ भदौ २०८३ २१:०९ | Saturday, August 29, 2026
‘सरकार बाढी प्रभावितको साथमा छ’ प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकका साथमा रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत उनले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका कार्यहरू नतिजा नआएसम्म निरन्तर जारी रहने बताएका हुन्।

विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका तटीय क्षेत्रमा निकै ठूलो जनधन र भौतिक क्षति पुर्‍याएकोप्रति नेपाल सरकार अत्यन्तै गम्भीर र संवेदनशील रहेको उल्लेख गर्दै उनले बाढी आएलगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोजी र राहत कार्यलाई कुनै पनि कसर बाँकी नराखी अहोरात्र तीव्र पारिरहेको बताए।

‘संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूसँगको निरन्तर समन्वय, सहकार्य र सहजीकरणमा यो कार्यलाई पूर्ण क्षमताका साथ निरन्तरता दिइएको छ। राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता बनेको कुरा दोहोर्‍याउन चाहन्छौँ,’ उनले भनेका छन्।

उनका अनुसार प्रतिकूल मौसम र विकट भौगोलिक परिस्थितिका बाबजुद पनि प्रभावित क्षेत्रबाट शनिबार ५ः३० बजेसम्म सात हजार ५१४ जना मानिसलाई हवाई र स्थलमार्गमार्फत सफलतापूर्वक उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको छ।

जसमध्ये विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा फसेका २७९ जना मानिसको उद्धार भइसकेको छ भने बाँकी क्षेत्रमा नेपाली सेनाले उद्धारको प्रयास जारी राखेको छ। उद्धारमा भारतीय र चिनियाँ विज्ञहरू नेपाली सेनासँगको समन्वयमा खटिएका छन्।

प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि नेपाली सेना र निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर प्रयोग गरेर हालसम्म २३६ वटा उडान भरिसकेको अवस्था छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी १८ हजार ७०८ जना सुरक्षाकर्मी खटिएका छन्।

‘हामीलाई प्राप्त सुझाव र गुनासोलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा परिचालन हुने सुरक्षाकर्मीको संख्या हरेक दिन बढाउँदै लगिएको छ भने थप हेलिकप्टरहरू तयारी अवस्थामा राखिएका छन्। तर, भौगालिक अवस्था र प्रतिकूल मौसमका कारण एकैपटक धेरै उडान भर्न सकिएको छैन। ज्यान जोखिममा राखेर खटिने सुरक्षाकर्मीको मनोबल उच्च राख्न दैनिक खाजा खर्च र प्रोत्साहन भत्ता वृद्धि गर्ने निर्णयसमेत गरिएको छ। उद्धारका क्रममा आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट पनि सहयोग लिइरहेका छौँ,’ उनले भनेका छन्।

साथै सरकार प्रभावित क्षेत्रबाट उद्धार गरिएका जटिल घाइतेहरूलाई काठमाडौँका विभिन्न अस्पतालहरूमा ल्याएर उपचार गरिरहेको उनको भनाइ छ।

‘अन्य घाइतेहरूलाई रसुवाको धुन्चे र नुवाकोटको बट्टारस्थित नेपाली सेनाको ब्यारेकमा मोबाइल अस्पताल खडागरी काठमाडौँबाट जानुभएका विभिन्न विशेषज्ञसहितको मेडिकल टोलीले निरन्तर उपचार गरिरहनुभएको छ,’प्रधानमन्त्री शाहले भनेका छन्।

यस्तै काठमाडौँबाट गएका विभिन्न चिकित्सकसहितको टोलीले धुन्चे, स्याफ्रुबेँसी, रसुवा अस्पताल र हेली क्षेत्रमा दुई गरी पाँच स्थानबाट स्वास्थ्य सेवा दिइरहेको उनले बताएका छन्।

घाइते र उनका परिवारका सदस्यहरूलाई मनोपरामर्श सेवासमेत प्रदान गरिरहेको उनको भनाइ छ।

अस्पतालमा रगतको सहज उपलब्धताका लागि सरकारले ‘रक्त सूचना पोर्टल’सञ्चालन गरी कुन अस्पतालमा कति रगत उपलब्ध छ भन्ने विवरण सार्वजनिक रूपमा जानकारी दिने व्यवस्था मिलाएको बताउँदै शाहले प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रवाहको थालनी गरिएको जानकारी दिएका छन्।

विभिन्न अस्पतालमा उपचारार्थ घाइेते नागरिक निको भएर घर जानेक्रम जारी रहेको उनको भनाइ छ।

प्रधानमन्त्री शाहका अनुसार हालसम्म रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासीपूर्व र नवलपरासी पश्चिमका विभिन्न स्थानमा ६७५ वटा शव फेला परेका छन्। फेला परेका शवलाई ‘एयर टाइट ब्याग’ मा राखेर व्यवस्थापन गर्ने काम भइरहेको उनले जिकिर गरेका छन्।

‘यी शवलाई ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’बमोजिम व्यवस्थापन गरिँदैछ। पहिचान गर्न नसक्ने अवस्थामा भेटिएका शवलाई मात्रै डीएनएलगायत अन्य पहिचानलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखी सरकारले आफैँ व्यवस्थापन गर्न लागेको हो। परिवारले पहिचान गरेका शव भने उहाँहरूलाई जिम्मा लगाउने काम भइरहेको छ। त्यसैले यस विषयमा कुनै पनि भ्रममा नरहन सबैमा अनुरोध गर्दछौँ,’ उनले भनेका छन्।

उनका अनुसार प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइतेबाहेक अन्य प्रभावित नागरिकका लागि जिल्ला प्रशासन कार्यालय, स्थानीय तहलगायतको समन्वयमा रुसुवामा तीन, नुवाकोटमा १५ वटा शिविर स्थापना गरिएको छ। यी शिविरका लागि संघीय सरकारले राहत सामग्री निरन्तर रूपमा पठाइरहेको उनले बताएका छन्।

प्रकाशित: १३ भदौ २०८३ २१:०९ | Saturday, August 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast